कैलाली, नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा कोरोना पोजेटिभ देखिए संगै संक्रमितको संख्या १३ पुगेको हो । भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ ।
अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो । ¥यापिड टेस्टमा नेगेटिभ देखिएको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन्। वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते पुगेका थिए । पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि पछि सबैले बस्न भनेपछि मानेका थिए। ५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको स्वाब संकलन गरेको थियो । काठमाडौंबाट आएको टोलीले २५ गते ¥यापिड टेष्ट र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आएको थियो । यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो। सरकारले भने आधिकारिक घोषणा गरिसकेको छैन ।

यसअघि पनि धनगढीकी ३४ वर्षीया महिलालाई क्वरेण्टीनबाट घर पठाएपछि कोरोना देखिएकोमा सोमबार फेरि ६० वर्षीया महिलालाई कोरोना देखिएपछि घरबाटै अस्पताल ल्याउन लागिएको हो । यसअघि दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो । त्यसको भोलिपल्ट परिवारका सबै सदस्यलाई १५ गते धनगढी रङ्गशालामा बनाइएको क्वरेण्टीनमा ल्याइएको थियो । तर कोरोनाको कुनै लक्षण नदेखिएको भनेर तीन दिनपछि घर पठाइएको पाइएको थियो । घर पठाएको दोस्रो दिन परिवारका सदस्यको स्वाब सङ्कलन गरिएकोमा तीन दिनपछि ती पुरुषको घरकै ३४ वर्षीया आफन्तलाई कोरोना पुष्टि भएपछि घरबाटै ल्याइएको थियो ।
यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी आफन्त, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सोमबार नयाँ सङ्क्रमित पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ, जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकी ११ मध्ये सेती प्रादेशिक अस्पताल धनगढीमा चार जना, नारायणी अस्पताल वीरगन्जमा तीन तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बाग्लुङमा दुई–दुई जनाको उपचार भइरहेको छ ।