पाल्पा, पूर्वी पाल्पा औषधी व्यवसायी संघले रामपुर नगरपालिका, इलाका प्रशासन, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण बाट बचाउन लकडाउनका जारी रहे पनि जोखिमका विच सेवा दिदै आएका कार्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
संघले एक द्वार प्रणली अन्तर्गत ५० हजार बराबरको रामपुर नगरपालिका मार्फत वितरण हुने गरी ६ बक्स माक्स, ७ बक्स ग्लोब्स, ६० वटा सेनिटाईजर प्रदान गरेको छ । पूर्वी पाल्पा औषधी व्यवसायी संघका अध्यक्ष निरोज श्रेष्ठ (राजकुमार)ले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई सामाग्री हस्तान्तरण गर्नु भएकाे थियाे । सामाग्री हस्तान्तरण गर्दै श्रेष्ठले विषम परिस्थितिका विच पनि अग्रभागमा रहेर जनताको सेवामा खटिएका जनप्रतिनीधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई हौसला प्रदान गर्न सामाग्री हस्तान्तरण गरिएको बताउनुभयाे । उहाँले रामपुर क्षेत्रका औषधी व्यवसायीहरुले जनताको लागि अत्यावश्यक सेवा २४ सै घण्टा र दैनिक १० बजे देखि ४ बजे सम्म नियमित सेवा दिदै आएको जानकारी दिनुभयाे ।
पूर्वी पाल्पा औषधी व्यवसायी संघका सल्लाहाकार अमृत काफ्लेले कोरोना विरुद्धको अभियानमा संघले गरेका प्रयासहरुको बारेमा जानकारी दिदै सरकारले अवलम्बन गरेको एक द्वार प्रणालीलाई आत्मसात गरेर नगरपालिका मार्फत सहयोग गरेको बताउनुभयाे । संघ बाट प्राप्त सहयोग मध्ये रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले इलाका प्रहरी कार्यालय रामपुरलाई ३ बक्स माक्स, २ बक्स ग्लोब्स, ३५ वटा सेनिटाईजर, इलाका प्रशासन कार्यालयको लागि १ बक्स माक्स, २ बक्स ग्लोब्स, सञ्चारकर्मीहरुको लागि १ बक्स माक्स, १ बक्स ग्लोब्स, १५ वटा सेनिटाईजर वितरण गर्नु भएको छ । बाँकी १ बक्स माक्स, २ बक्स ग्लोब्स, १० वटा सेनिटाईजर नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिएको छ ।
पूर्वी पाल्पा औषधी व्यवसायी संघलाई धन्यवाद दिदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वास्थ्यकर्मीहरुले खेलेको भुमिकाको प्रशंसा गर्नु भयो । उहाँले आफु पनि बाँच्ने र समाजलाई बचाउने अभियानमा स्वास्थ्यकर्मीहरु अझ जोखिममा रहेको भन्दै सेवा प्रवाहमा विशेष सावधानी अपनाउन अनुरोध गर्नु भयो । थापाले विभिन्न व्यक्ति तथा संघ संस्था बाट सहयोगहरु आउने क्रम जारी रहेको भन्दै विपद्को सामनाका लागि सहकार्य अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन पूर्वी पाल्पा औषधी व्यवसायी संघका कोषाध्यक्ष ईश्वरी बिसीले गर्नु भएको थियो ।