बाँझो जमिनमा खेती गर्ने कृषकलाई रामपुर नगरपालिकाले अनुदान दिने

पाल्पा, पाल्पाको रामपुर नगरपालिकाले २ वर्ष देखि बाँझो रहेका खेतीयोग्य जमिन सदुपयोग गर्ने कृषकलाई अनुदान दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण निम्तन सक्ने खाद्यान्न संकट टार्न नगरपालिकाले जमिनको सदुपयोग गर्ने कृषकलाई अनुदान दिने भएको हो ।

खाद्यान्नको लागि मकै खेती बाट उत्पादन छिटो लिन सकिने भएकाले मकै खेती गर्ने कृषकलाई प्रति रोपनी ३ हजार र तरकारी खेती गर्ने कृषकलाई प्रति रोपनी ५ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको रामपुर नगरपालिकाका प्रवक्ता एवं आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपाने जानकारी दिनुभयो । रामपुर नगरपालिकाको आर्थिक विकास परियोजना संञ्चालन समितिको शनिबार बसेको बैठकले कृषकहरुलाई वीउ, मल तथा खनजोतका लागि अनुदान दिने निर्णय गरेको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आर्थिक संकट टार्न कृषि नै उपयुक्त भएको बताउँदै तत्काल खाद्यान्न आपूर्तिको लागि मकै खेतीमा अनुदान दिन लागेको बताउनुभयो ।

थापाले भन्नुभयो ‘एक तर्फ नगरपालिका भित्रको खेतीयोग्य जमिन बाँझो रहने र अर्को तर्फ खाद्यान्न संकट आउन सक्ने सम्भावना भएकाले समयमै समस्या समाधानका लागि नगरले यस्तो निती लिएको हो ।’ कोरोना भाईरसको कारण समग्र आर्थिक क्षेत्र अस्तव्यस्त बनेकाले आर्थिक स्तर सुधारको उपाय कृषि भएको निष्कर्ष निकाल्दै अनुदान दिने घोषणा गरिएको हो । साथै नगरपालिकाले यस्तो निर्णय लिए संगै दुई वर्ष देखि बाँझो रहेका खेती योग्य जमिनमा मकै तथा तरकारी खेती गर्न इच्छुक व्यक्ती तथा समुहलाई यही बैशाख ११ गते भित्र वडा कार्यालयमा निवेदन दिन समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?