पाल्पा ,पाल्पाका विभिन्न पालिकाहरुले दैनिक ज्याला मजदुरी गर्ने , गरिब बिपन्न र अशक्त परिवारलाई राहत बितरण गर्दै अाएको छ । सरकारले लकडाउन घोषणा गरेपछि ती परिवारलाई समस्या नहोस भन्ने उद्देश्यले सरकारले अबलम्बन गरेको मापदण्डअनुसार एकद्वार प्रणाली मार्फत राहत बितरण गरेको हो । पहिलो चरणमा करिब ६ हजार ४ सय बढी परिवारलाई राहत वितरण गरेका पाल्पाका पालिकाहरुले दोस्रो चरणको राहत बितरणको तयारी गरेको छ । यसैबीच पाल्पाको निस्दी गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने तयारी गरेको छ । यस्तै निस्दी गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले निस्दीका २ सय ५० घर गरिब तथा विपन्न परिवार र १५ जना ज्याला मजदुरी गर्नेलाई वडा कार्यालयको सिफारिसमा राहत वितरण गर्ने निर्णय गरेको गाउँ पालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो। बैठकले पालिका भित्र रहेका नियमित अौषधी सेवन गर्ने दिर्घ रोगीको लागत संकलन गरि घरसम्म औषधि पुर्याइदिने , प्रत्येक वडामा स्वयंसेवक समिति गठन गर्ने, खाद्यान्न पसल विहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खुलाउने र नेपालका प्रमुख शहर तथा स्थानबाट आउने प्रत्येक व्यक्तिहरुलाई अनिवार्य रूपमा वडा स्तरको क्वारेन्टाइनमा राखिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । यस्तै रामपुर नगरपालिका , तानसेन नगरपालिका ,पूर्वखोला गाउँ पालिका , रम्भा गाउँ पालिका , माथागढी गाउँ पालिका , बगनासकालि गाउँ पालिका लगाएत अन्य पालिकाहरुले पनि लगत संकलन गरि दोस्रो चरणको राहत बितरण गर्ने तयारी रहेको जनाएका छन् ।