पाल्पा, बन्दाबन्दीका कारण प्रभावित बनेका रामपुर नगरपालिका भित्रका ७ जना फरक क्षमताका व्यक्तिहरुलाई एक संस्थाले खाद्यान्न प्रदान गरेको हो ।
अमेरिका र बेलायतका गैरआवासिय नेपालीहरु द्धारा स्थापना भएको टिम मायावि नामक संस्थाले कालीगण्डकी उद्यमी युवा समाज नेपाल संगको सहकार्य र रामपुर नगरपालिकाको समन्वयमा खाद्यान्न सहयोग गरेको हो । लकडाउनकाले विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिहरु थप प्रभावित नहोस् भन्दै सरकारले अवलम्बन गरेको एक द्धार निती अनुरुप नगरपालिका संग समन्वय गरी वडा नं. ५ का ६ जना र वडा नं. १ का १ जनालाई घरघर मै पुगेर राहत प्रदान गरेको हो । उनीहरुलाई प्रति व्यक्ति ६० केजी चामल, २/२ केजी दाल, नुन, चना, साढे १ लिटर तेल र २ वटा साबुन वितरण गरिएको छ ।
राहत वितरण कार्यमा रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल, कालीगण्डकी उद्यमी युवा समाज नेपालका संरक्षक भोजेन्द्र प्रकाश ढकाल, हरि प्रसाद अधिकारी रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतम, रामपुर नगरपालिका न्यायिक समितिका सदस्य विष्णु प्रसाद बस्याल, रामपुर नगरपालिका ५ का वडा सदस्य काशीनाथ रेग्मी सस्थाका सचिव सचिव दिपेन्द्र प्रसाद भट्टराई लगाएतको सहभागीता रहेको थियो । टिम मायावि संस्थाका संयोजक विराज भट्टराईले लकडाउनका कारण अपाङ्गता भएका व्यक्तिका संरक्षकहरु काम विहिन बनिरहेको अवस्थामा अवस्था थप दयनिय बन्न सक्ने भएकाले खाद्यान्नका लागि सहयोग गरेको जानकारी दिनुभयो ।
कालीगण्डकी उद्यमी युवा समाज नेपाल सचिव दिपेन्द्र प्रसाद भट्टराईले ५० हजार बराबरको सहयोग गरिएको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले संस्थालाई धन्यवाद दिदैँ नगरपालिकाले अशक्त र विपन्न परिवारलाई समेट्ने गरी पहिलो चरणको राहत वितरण गरिएको र दोस्रो चरणको पनि तयारी भैरहेको बताउनुभयो ।