पसलमा आगलागी हुँदा गुल्मीमा एकको ज्यान गयो

गुल्मी, गुल्मीमा एक पसलमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । सोमबार दिउँसो चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बसपार्कको एक किराना पसलमा आगलागी हुँदा १५ वर्षिय समिर खनालको ज्यान गएको हो ।

बसपार्कमा रहेको पूर्ण बहादुर खनालको खनाल स्टोर्समा आगलागी भएको थियो । समिर पूर्णका छोरा हुन् । साथै आगलागीमा पूणै चन्द्र सहित परिवारका ३ जना जना घाईते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय पूर्णबहादुर खनाल, उनकी श्रीमती ४२ वर्षीया रुपा खनाल र उनका छोरा २१ वर्षीय सञ्जय खनाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते २ जनालाई उपचारको लागि पाल्पाको मिसन अस्पतालमा पठाईएको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीले जानकारी दिए । पसलबाट डिजेल, पेट्रोल बिक्री गर्दै आएकाले आगलागी तत्काल नियन्त्रणमा लिन नसक्दा पसलको सामन जलेर नष्ट भएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?