पाल्पा, रामपुर नगरपालिका न्यायिक समितिले लकडाउनको समयमा फोन तथा ईमेल बाट निवेदन लिने भएको छ । विश्वभर फैलिएको कोरोना भाईरस संक्रमण बाट बच्न जारी रहेको लकडाउनको समयमा समितिले इमेल बाट लिखित र मोबाईल मार्फत मौखिक रुपमा निवेदन लिने भएको हो ।
रामपुर नगरपालिका न्यायिक समितिको विहिबार बसेको आकस्मीक बैठकले लकडाउनको समयमा पनि हिंसा तथा दुव्र्यवहार जस्ता घट्न सक्ने भन्दै इमेल तथा फोन बाटै उजुरी लिने निर्णय गरेको हो । नगर भित्र विशेषगरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुमा हिंसा तथा दुव्र्यवहार हुन सक्ने भएकाले समय मै समन्वय र सहजीकरणको लागी यस्तो निर्णय गरेको हो ।
न्यायिक समितिका संयोजक एवं रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले समय मै न्याय प्रदान गर्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको बताउनुभयो । उहाँले ईमेल तथा फोन मार्फत आएको निवेदनको आधारमा प्रथामिकता हेरी सामाजिक दुरी कायम गरी बहस गरेर फैसला गरिने बताउनु भयो । उहाँले लकडाउनको समयमा आवश्यक परेमा सम्बन्धीत स्थानमा पुगेर पनि न्याय प्रदान गर्ने बताउनुभयो ।
फोन मार्फत ९८५७०६२५५०, ०७५४००१४५ र ९८४९९१४५८७ र ईमेल बाट rampurmunicipality@gmali.com मा निवेदन दिन सकिने छ ।