विहानको वर्षादले निर्माणाधिन अँधेरीखोला पुलमा क्षति

तस्वीर :- प्रकाश ज्ञावली

पाल्पा, सोमबार विहानको वर्षादले रामपुर ३ र ४ जोड्ने निर्माणाधिन अँधेरीखोला पुलमा क्षति गरेको छ । कालीगण्डकी करिडोर अन्तर्गत ढलानको लागि तयारीमा रहेको पुलमा वर्षाद संगै आएको भेलले क्षति गरेको हो ।

ह्युमपाईपले पानीको वहाव थेग्न नसकेपछि भेलसहितको खोलाले ढलानको लागि लगाएको केही टेको, प्लाई, क्लिप, काठहरु बगाएको निर्माणको जिम्मा पाएको इलाईट कन्ट्रक्सनले जनाएको छ । इलाईट कन्ट्रक्सनका प्रतिनिधी श्याम केसीको अनुसार गत चैत्र १३ गते ढलान गर्ने तयारी भए पनि लकडाउनका कारण ढलान रोकिएको हो । उहाँले भन्नुभयो, ‘हामीले गत चैत्र १३ गते ढलानको तयारी गरेका थियौ । लकडाउन भएपछि आवश्यक सामान ल्याउन र काम अघि बढाउन पाएनौं । काम अन्तिम चरणमा भएकाले खोला बढेमा समस्या हुन्छ भनेर प्रशासन संग पटक पटक अनुमती माग्यौ तर पाइएन ।’

केसीले कामदारहरुलाई तयारी अवस्था राखेर कच्चापदार्थ आपूर्तिको लागि पहल गरे पनि अनुमति नपाएको बताउनुभयो । साथै उहाँले अन्तिममा आएर सामान जुटाएर बैशाख १९/२० मा ढलान गर्ने तयारी भएपनि वर्षादले समस्या निम्त्याएको बताउनुभयो । उत्तर दक्षिण कालीगण्डकी लोक मार्ग आयोजनाको कार्यालय पाल्पाका अनुसार इलाईटले भ्याट सहित ३ करोड ७२ लाख ५१ हजार ७ सय ८१ रुपैयाँ लागतमा २०७४ फागुन २२ मा २०७६ पुस २१ गते भित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । त्यस्तै असार मसान्त भित्र सम्पन्न गर्ने गरी ६ महिना म्याद थप भएको थियो ।

तस्वीर :- प्रकाश ज्ञावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?