मुस्लिम आयोग द्वारा रामपुरका मस्जिद र मदरसाको अनुगमन

पाल्पा, विश्वभर फैलिएको कोरोना भाईरस संक्रमणका विच सुरु भएको इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानलाई मध्यनजर गर्दै मुस्लिम आयोगले देशैभरका मस्जिदहरुको अनुगमन गरिरहेको छ । रमजानको समय नमाज पाठ कसरी गर्दैछ र लकडाउनको पालन कसरी भैरहेको छ भन्ने बुझ्नका लागि आयोगले प्रशासन, स्थानिय तह र मस्जद तथा मदरासा व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा अनुगमन सुरु गरेको हो ।

यस्तै पाल्पाको रामपुरमा रहेको दुई मस्जिद र मदरसाको पनि विहिबार अनुगमन गरीएको छ । इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य, रामपुर नगरपालिकाका प्रशासकिय अधिकृत ऋषिराम आचार्य, रामपुर ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, मुस्लिम आयोग पाल्पा जिल्ला अनुगमन समितिका संयोजक इरसाद अली शेख तथा अन्य सदस्यहरु, मस्जिद र मदरसा व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा अनुगमन गरेको हो । रामपुर ४ इस्लामपुरमा रहेको अहले सुन्नत जामे मस्जिद, हजरत वेलाल जामे मस्जिद, मदरसा नुरुल हूदा अहले सुन्नत प्रावि र मदरसा नुरुल हूदा आधारभूत विद्यालयको अनुगमन गरेको हो ।

रमजानको समयमा मस्जिदमा भिडभाड भई कोरोना संक्रमण हुन सक्ने भन्दै अनुगमन गरेको मुस्लिम आयोग पाल्पा जिल्ला अनुगमन समितिका संयोजक इरसाद अली शेखले जानकारी दिनुभयो । अनुगमनको क्रममा नमाजको समयमा ५ जना मात्र सहभागी हुने गरेको र लकडाउनको पुर्ण पालना भएको पाइएको शेखले बताउनुभयो । उहाँले अनुगमन पश्चात एक पटकमा नमाज पढ्न ५ जना मात्र जान र जानै परेमा पालो गरेर भित्र जान आग्रह गरिएको बताउँदै आयोगको निर्देशन अनुसार दुरी कामय गरेर घरमै नमाज पढ्न आग्रह गरिएको जानकारी दिनुभयो । आयोगले पाल्पाका अन्य स्थानका मस्जिदहरुको पनि अनुगमन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?