नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं, आईतबार दिउँसो ९ जनामा कोरोना पोजिटिभ भेटिएको बाँकको नेपालगञ्जमा साँझ थप ६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको स्वाब परीक्षणमा साँझ थप ६ जनामा रिपोर्ट पोजिटिभ भेटिएको हो ।
यो संगै नेपालगन्जमा मात्रै आईतबार एकै दिन १५ जना र शुक्रबार १ जना गरी १६ जनामा कोरोना पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिका ८ का १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५ र ६० वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उनीहरुको भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य जनाएको छ ।
शनिबार स्वाब संकलन गरिएका ९० जनाको परीक्षणमा १५ जनाको कोरोना पोजिटिभ आएको हो । अझैं ६० जनाको परीक्षण गर्न बाँकी छ । उनीहरुलाई नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ। भेरी अस्पताल नेपालगन्जमा बाँकी नमूनाको परीक्षण जारी रहेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिउँसो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाँच पुरुष र चार महिला गरेर ९ जनाका कोरोना पोजिटिभ देखिएको पुष्टी गर्नु भएको थियो । नयाँ संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या नेपालमा ७५ पुगेको छ । १६ जना भने निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?