रामपुर नगरपालिकालाई राष्ट्रिय वाणिज्य बैंक रामपुर शाखाको सहयोग

पाल्पा, पाल्पाका स्थानीय तहले स्थापना गरेको कोरोना राहत कोषमा विभिन्न संघ संस्थाले नगद तथा जिन्सी सहयोग गर्दै आएको छ । सरकारले एकद्वार प्रणाली मार्फत राहत वितरणको निति अबलम्बन गरे संगै राहत बितरण गर्न चहाने व्यक्ति तथा संघ संस्थाले स्थानीय तहको राहत कोषमा सहयोग गरेका हुन् ।
यस्तै राष्ट्रिय वाणिज्य बैंक रामपुर शाखाले रामपुर नगरपालिकाको राहत कोषमा रकम जम्मा गरेको छ । बैंकले नगरपालिकाको राहत कोषको खातामा नगद तीस हजार रुपैयाँ जम्मा गरेको हो । बैंकका शाखा प्रबन्धक सन्तोष गुप्ताले र सहायक प्रबन्धक शान्ति पाठकले रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणलाई लेखा अधिकृत रेणुराम ज्ञावली र सहलेखापाल विनोद पुन मगरको उपस्थितिमा बैंक खातामा रकम जम्मा गरेको बैंक भौचर हस्तान्तरण गर्नु भएको हो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तरगतको रकम सहयोग गरेको बैंकका कर्मचारी शान्ति पाठकले बताउनुभयो । भौचर बुझ्दै योजना अधिकृत खाँणले धन्यवाद ज्ञापन गरेका थिए । यस संगै नगरपालिकाको राहत कोषमा १९ लाख ३४ हजार १ सय ४६ रुपैयाँ संकलन भएको छ । जस मध्ये ७ लाख ३४ हजार २ सय रुपैयाँ बराबरको जिन्सी सामान र ११ लाख ९९ हजार ९ सय ४६ रुपैयाँ नगद जम्मा भएको रामपुर नगरपालिकाका लेखा अधिकृत रेणुराम ज्ञावलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?