काठमाडौं, कपिलवस्तुमा २ जनामा कोरोना संक्रमण देखिए संगै नेपालमा पनि संक्रमित संख्या १ सय १ पुगेको छ । बिहीबार कपिलवस्तुका १६ र २२ वर्षिय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भए संगै संक्रमितको संख्याले शतक पार गरेको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परीक्षण गर्दा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्रेस विज्ञप्तीमा उल्लेख गर्नु भएको छ । उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ६८ हजार ६०२ नमूना परीक्षण भएका छन्। जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५०९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।
रेड जोनमा ३३५ जना पुगेका छन् । यस्तै आइसोलेसनमा १३३ जना छन् भने जसमा उपत्यकाभित्र ३ र उपत्यका बाहिर १३० जना छन् । नेपालमा हालसम्म संक्रमितको संख्या १०१ पुगेको छ । जसमध्ये ७३ जना पुरुष र २८ जना महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये २२ जना निको भएका छन् । जसमध्ये तीन जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।