पाल्पा, शान्तिदिप उद्यान पार्क रामपुर नगरपालिका ४ खोप्टार बक्सिस चौपारीमा रहेको नेपालका प्रथम शहीद क्याप्टेन लखन थापाको शालिकमा तोडफोड भएको छ । पार्कमा रहेको थापाको ३ फिट अग्लो अर्धकदको शालिकमा अज्ञात समुहले तोडफोड गरेको हो ।
स्थानियले विहिबार साँझ घाँस काट्न जाने क्रममा शालिक तोडिएको अवस्था भेटे पछि शुक्रबार विहान घटना बाहिर आएको थियो । लखन थापा शालिक संरक्षण समितिका सचिव देव बहादुर ठाडाले शालिकको टाउकोमा रहेका फेटाको केही भाग, बायाँ कानको केही भाग फुटेको र गालामा समेत क्षति पुगेको जानकारी दिनुभयो । घटना बुधबार राति नै भएको हुन सक्ने बताउनुभयो ।
राणा शासन विरुद्ध आवाज उठाउँदा शहीद भएका थापा मगरको सम्मान र इतिहासको संरक्षण गर्न एकिकृत मगर उत्थान समाज रामपुर, पाल्पाले शालिक निर्माण गरी २०७१ बैशाख १ गते अनावरण गरेको थियो । यस अघि पनि शालिकमा केही समय अघि पनि अज्ञात समुहले तोडफोड गरेको थियो । शालिक निर्माण संगै शान्तिदिप उद्यान पार्कमा निर्माण गरिएको प्रवेश द्वारमा पनि ढुङ्गा प्रहार भएको थियो । कुनै जातिय विशेष मात्र नभई सिङ्गो राष्ट्रको गहना माथि पटक पटक तोडफोड हुनु दुखद भएको लखन थापा शालिक संरक्षण समितिका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले बताउनुभयो । मश्राङ्गीले भन्नुभयो, ‘एक पटक मात्र होईन । पार्कमा पटक पटक यस्ता प्रयासहरु हुँदै आएको छ । इतिहास मेटाउनका लागि भएका यस्ता हर्कतहरुले थप चिन्तित बनाएको छ ।’
एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर थापा हिस्कीले तोडफोड पटक पटक दोहोरिएको भन्दै यस घटनाको सुक्ष्मरुपमा अध्ययन गरिने बताउनुभयो । समाजका सचिव राम बहादुर रानाले इलाका प्रहरी कार्यालयको टोलीले क्षतिको लगत संकलन गरिसकेको बताउँदै आगामी दिनमा कसरी यस्ता घटनालाई निरुत्साहित गर्ने भन्ने बारेमा एकिकृत मगर उत्थान समाजले पनि छलफल गरिरहेको बताउनुभयो ।