छिमेकी जिल्लामा कोरोना संक्रमित बढे संगै जेठ १ गते देखि पाल्पामा लकडाउन कडा गरिने

 

पाल्पा, छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढेपछि पाल्पामा लकडाउनलाई थप कडाइ गरिने भएको छ । 
रुपन्देही, कपिलवस्तु लगायतका स्थानमा कोरोना संक्रमण बढेपछि पाल्पामा बन्दाबन्दीलाई कडाइ गर्ने भएको हो । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले जेठ १ गते विहिवारबाट जिल्लामा लकडाउनलाई थप कडार्ई गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले जारी गरेको निर्दे्शिका अनुसार सवारी पास जारी गर्ने, पास विनाका सवारी साधनलाई जिल्ला प्रवेश गर्न र बाहिर जान रोक लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

बैठकले सवारी साधन तथा पैदलमार्गबाट अाउने व्यक्ति तथा सवारी साधनलाई चेकजाँच तथा पूर्ण रुपमा रोक लगाउने त्यसका लागि शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्ने, भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न बैंक तथा वित्तिय संस्थाहरुलाई हप्तामा तीन दिन आइतवार, मंगलवार र विहिवार विहान ११ देखि १ बजेसम्म संचालन गर्ने, अत्यावश्यक बाहेकका पसल व्यवसायहरु बन्द गर्ने, कर्मचारीहरुलाई विहान ९ देखि १० बजेसम्म कार्यालय आउन र ४ देखि ५ बजेसम्म घर फर्किन अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर मात्र आवत जावत गर्न दिने, परिचय पत्र, पास र पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?