रामपुर नगरपालिकाले नाकाहरुमा सुरक्षा गार्डको व्यवस्था गर्ने

सांकेतिक तस्वीर

पाल्पा, रामपुर नगरपालिकाले लकडाउनलाई थप प्रभावकारी बनाउन नाकाहरुमा सुरक्षा गार्डको व्यवस्था गर्ने भएको छ । दिनको समयमा सुरक्षाकर्मी तथा स्थानियले निगरानी गर्ने भए पनि रातको समयमा अन्य स्थान बाट यातायातका साधन तथा मानिसहरुको आवत जावत हुन सक्ने भन्दै निगरानीका लागी गार्डको व्यवस्था गर्न लागेको हो ।

बुधबार प्रशासन, सुरक्षा निकाय, नगरका राजनैतिक दल, समन्वय समिति लगाएतका सरोकारवाला संग छलफल गरी सुझाव अनुसार विहिबारको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । गोरेटो, घोडेटो, झोलुङ्गे पुल, पक्की पुल तथा सडक मार्ग भएर नगर क्षेत्र भित्रने ३२ वटै नाकाहरुमा २÷२ जनाको दरले सुरक्षा गार्डको व्यवस्था गर्न लागेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले बताउनुभयो । सुरक्षा गार्डको लागि नाका भएका सम्बन्धित वडाको सिफारिसमा ५० वर्षभन्दा मुनिका भूत पूर्व सैनिक तथा प्रहरी, म्यादी प्रहरी, सुरक्षा गार्डमा अनुभव भएका व्यक्तिलाई चयन गरीने आचार्यले जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बाहिर बाट आउने मानिसहरुले चुनौती थपिएको भन्दै २४ सै घण्टा निगरानीका लागि यस्तो व्यवस्था गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिनको समयमा नेपाली सेना, नेपाल प्रहरी संगै स्थानियहरुले नाकाहरुको निगरानी गर्नेछ । तर रातको समयमा लुकिछिपी नगरपालिमा अन्य स्थान बाट भित्रन सक्ने खतरा भएकाले साँझ साढे ७ बजे देखि विहान ५ बजे सम्म निगरानी गर्ने गरी पारिश्रमिक सहित सुरक्षा गार्डको व्यवस्था गर्न लागेका हौं ।’ साथै उहाँले हाललाई ५ गते सम्मका लागि नियुक्ति गर्ने र पछि आवश्यकता अनुसार समय थप गर्ने जानकारी दिनुभयो ।

सुरक्षा गार्डहरुको नगरपालिकाले अप्रत्यक्ष रुपमा निगरानी गर्ने छ । सुरक्षा बेस क्याम्प रामपुर र इलाका प्रहरी कार्यालय रामपुरले समन्यव गरी दिनको समयमा मुख्य नाकाहरुको निगरानी गर्ने छ । नगरपालिकाले स्वयंम सेवकको रुपमा सहयोग गर्न चाहने राजनीतिक दल, भातृ संघ संगठन, क्लव, संस्थाहरुलाई वडा कार्यालय संग समन्वय गरी आफ्ना टोल तथा नाकाहरुको निगरानी, लकडाउनको पालनामा सहयोग गर्न आग्रह गरेको छ । तत्कालको लागि नगरपालिका भित्रने खाद्यान्न तथा तरकारीका गाडीहरुलाई पनि रोक लगाईने भएको छ । एम्बुलेन्सहरुलाई पनि आवश्यकता हेरी चेक जाँच गरिने, नगरपालिका क्षेत्रमा भित्रने अत्यावश्यक गाडीहरुलाई स्प्रे गरेर मात्र आउने दिने जनाएको छ ।  साथै बाहिर बाट आएका आफन्त तथा अन्य कसैलाई वडा कार्यालयमा वा नगरपालिकाको कार्यालयमा जानकारी नगराई घरमा राखेको पाइएमा घरमा राख्ने ब्यक्तिलाई समेत नियमानुसार कैद वा जरिवाना गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?