नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि, संक्रमणले सुत्केरी महिलाको ज्यान गयो

काठमाडौं, सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोराना संक्रमणका कारण ज्यान गएको पुष्टि भएको छ । बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जारी गर्नु भएको विज्ञप्ति अनुसार ति महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर २४ गते नर्मल डेलिभरी भएको थियो । नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी उनलाई ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो । उपचार पछि समेत विभिन्न शारीरिक समस्या आए पछि थप उपचारका लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो ।

स्वासप्रश्वासमा समस्या आएपछि कोरोना परीक्षणमा उनको आरडिटि रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि गरिएको पीसीआर परीक्षणको रिपोर्टसमेत पोजिटिभ आएको थियो । २०७६ माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको नेपालमा कोरोनाले पहिलो पटक ज्यान लिएको हो । उनको मृत्युपछी धुलिखेल अस्पताल र बाह्रविसे नगरपालिका वडा नम्बर ६ सिल गरिएको छ । ति ठाउँमा भोली विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गर्ने सरकारको तयारी छ । नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि हुँदा एक जनाको मृत्यु भएको हो । ३६ जना निको भएका छन् ।

शनिबार राति नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?