पाल्पा, गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा पाल्पाको रामपुर नगरपालिका १० मलौटे घाट बाट बेपत्ता भएका २ बालक मध्ये १ बालकको शव फेला परेको छ ।
नदीले किनारामा ल्याएर राखेको अवस्थामा बुधबार दिउँसो चापाकोट नगरपालिका ७ वनकत्ता स्याङ्जामा शव फेला परेको हो । माछा मार्न गएका स्थानियहरुले शव फेला पारेका थिए । वेपत्ता भएका रामपुर १० सिकोडाँडाका २ बालक मध्ये रेशम भट्टराईको छोरा १० वर्षिय सुनिल भट्टराईको शव फेला परेको इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी निरिक्षक केदार पन्तले बताउनुभयो ।
उहाँले शव क्षदविक्षेद अवस्थामा रहेको बताउँदै आफन्तले हातको औला मार्फत भट्टराईको शव पहिचान गरेको जानकारी दिनुभयाे । अर्का १० वर्षिय बालक समीर चापागाई अझै पनि बेपत्ता छन् । उनको पनि खोजी भैरहेको छ । आईतबार दिउँसो सुनिल र समीर सहित ५ बालकहरु दिउँसो १ बजे नदीमा पौडी खेल्न गएका थिए । पौडीने क्रममा दुवै जना वेपत्ता भएका हुन् ।