क्वारेन्टाईन पश्चात पूर्वखोला २ जल्पाका युवाहरु विकास निर्माणमा

तस्वीर :- पूर्वखाेला २ जल्पाका वडा अध्यक्ष निर बहादुर सारुकाे फेसबुक मार्फत

पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पाले १४ दिने क्वारेन्टाईन पश्चात १० जना युवाहरुलाई विकास निर्माणमा लगाएको छ । पोखरा बाट फर्केर जल्पाको कमला प्राथमिक विद्यालयको क्वारेन्टाईनमा बसेका युवाहरुलाई आरडिटी परिक्षण पश्चात वडाले सडक निर्माणमा लगाएको हो ।

रोजगारीको क्रममा पोखरा पुगेका उनीहरु लकडाउनका भए पनि केही समय अघि गाउँ फर्केका थिए । १४ दिने क्वारेन्टाईन र आरडिटी परिक्षण पछिको एक हप्ता होम क्वारेन्टाईनको समय सदुपयोगका लागि उनीहरुलाई सडक निर्माणमा लगाएको वडाले जनाएको छ ।
पूर्वखोला २ जल्पाका वडा अध्यक्ष निर बहादुर सारुले लकडाउन पछि एक तर्फ युवाहरु बेरोजगार भएको र अर्को तर्फ विकासका काम रोकिएकाले रोजगारी पनि मिल्ने र निर्माणको काम पनि अघि बढाउने लक्ष्यका साथ उनीहरुलाई काममा लगाईएको बताउनुभयो ।

तस्वीर :- पूर्वखाेला २ जल्पाका वडा अध्यक्ष निर बहादुर सारुकाे फेसबुक मार्फत

सारुका अनुसार १ लाख रुपैयाँको बजेट बाट निर्माण हुन लागेको वडाको आर्की डाँडा बटेनी मोटर बाटो निर्माणमा उनीहरुलाई लगाईएको हो । उहाँले १४ दिने क्वारेन्टाइन पश्चात आरडिटी परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि एक हप्ता होम क्वारेन्टाइनको समयलाई विकासमा लगाएको बताउनुभयो । सारुले सामाजिक दुरीलाई ध्यानमा राखि गाउँको सडक निर्माण कार्य भैरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?