रामपुर १ का ४६ कृषकलाई पचास प्रतिशत अनुदानमा ५० घार मौरी

पाल्पा, कृषकहरुलाई मौरीपालन तर्फ आकर्षिक गर्नका लागि रामपुर नगरपालिका वडा नं. १ ले लकडाउनका विच टोलटोलमा पुगेर कृषकहरुलाई अनुदानमा मौरीघार वितरण गरेको छ ।

वडा कार्यालयले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गोला सहितको मौरी घार वितरण गरेको हो । कृषकहरुको माग अनुसार वडा कार्यालयले ४६ जना कृषकहरुलाई ५० घार मौरी वितरण गरेको थियो । रामपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेल, रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, योजना अधिकृत कपिल बहादुर खाँण र कृषि प्राविधिक शुसिल अधिकारीको सहितको टोलीले कृषकको घरघरमा पुगेर घार वितरण गरेको हो ।

कृषकहरुलाई रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत पाण्डेय र कृषि प्राविधिक अधिकारीले प्राविधिक ज्ञानको बारेमा जानकारी गराउनु भएको थियो । वडाले ८ हजार रुपैयाँ बराबरको घार पचास प्रतिशत अनुदानमा प्रदान गरेको हो । साथै टोल अनुसार कृषकहरुलाई ५/५ वटा टोपी र पञ्जा वितरण गरिएको थियो । वडा नं. १ का वडा अध्यक्ष कंडेलले मौरी घार तथा कागती खेतीको लागि ४ लाख १० हजार रकम विनियोजन गरिएकोमा कागती खेतीलाई केही रकम छुट्टाएर केहीले मौरीघार वितरण गरिएको बताउनुभयो । उहाँले बाँकी रकमले कोरोना संक्रमण नभएको जिल्ला विरुवा पाईएमा कागतिको विरुवा वितरण गरिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?