कृषि एम्बुलेन्स बाट कृषकको तरकारी संकलन संगै विक्री गर्दै रामपुर

पाल्पा, पाल्पाको रामपुर नगरपालिकाले शनिबार देखि कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । २ महिना देखि जारी लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा सहजताको लागि सेवा सुरु गरेको हो ।

कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ नगरपालिकाले हप्तामा तीन दिन कृषि शाखा मार्फत कृषि सहकारीहरु संग समन्वय गरी तरकारी संकलन तथा विक्री गर्न सुरु गरेको हो । नगरले तरकारी संकलन सुरु गरे पछि व्यवसायिक कृषकहरुले राहतको महशुस गरेका छन् । रामपुर ७ बगर चोकमा ४ वर्ष देखि तरकारी खेती गर्दै आएका मेघराज न्यौपानेले कृषि एम्बुलेन्सले थप राहत र हौसला मिलेकोे बताउनुभयो । नगरपालिकाले वडाहरुमा कृषि सहकारीहरु संग समन्वय गरी खरिद तथा विक्री गरिरहेको छ । उत्पादन भएका तरकारी आपूर्ति अनुसार विक्री नहुने र कतै स्थानियले तरकारी अभाव झेल्नु पर्ने बाध्यता न्यूनिकरणमा यसले महत्वपूर्ण भुमिका खेल्ने विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सुर्य प्रसाद रेग्मीले बताउनुभयो ।

रामपुर नगरपालिका आर्थिक विकास समितिका सदस्य कमलराज भट्टराईले न्यूनतम बजार मूल्य अनुसार कृषकलाई मर्का नपर्ने गरी तरकारी खरिद गरी १० रुपैयाँ थप गरेर विक्री मुल्य कायम गरिएको बताउनुभयो । शनिबार कृषि एम्बुलेन्स बाट वडा नं. ६ र ७ मा उत्पादन भएको करेला, घिरौला, सिमी, बोडी, खुर्सानी, भन्टा, भिण्डी, लौका, साग, टमाटर, बन्दा लगाएतका ८ सय ५७ केजी तरकारी विजयपुर कृषि सहकारी र हराभरा कृषि सहकारीको सहयोगमा संकलन गरेको थियो । कृषि एम्बुलेन्स बाटै संकलन भएका तरकारी विक्री गरी बाँकी रहेको कृषि शाखा बाट विक्री भैरहेको छ । रामपुर नगरपालिकाका कृषि शाखाका प्रमुख रामहरी पाण्डेयले कृषकहरुलाई राहत र उपभोक्ताको सहजताको हप्तामा ३ दिन सोमबार, बुधबार र शनिबार विभिन्न वडाहरुमा पुगेर संकलन संगै विक्री गर्ने बताउनुभयो । बाँकी रहेका तरकारी कृषि सेवा कार्यालय बाटै साँझ विहान विक्री गर्ने व्यवस्था गरिएको पाण्डेयले जानकारी दिनुभयो ।

रामपुर नगरपालिका अर्थिक विकास समितिका संयोजक एवं नगर प्रवक्ता हुमनाथ न्यौपानेले बाहिर बाट तरकारी आयातलाई निरुत्साहित गर्ने निती नगरले अबलम्बन गरेर कृषकलाई व्यवयायिकतामा प्रोत्साहन गरिरहेका अवस्थामा लकडाउनले समस्या पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले बाहिर बाट आयता हुने तरकारीलाई निरुत्साहित गर्नका लागि प्रोत्साहन स्वरुप उत्पादन भएर विक्री नभएमा तरकारी नगरपालिकाले खरिद गरेर विक्री गर्ने व्यवस्था गछौं भनेका थियौं । अहिले लकडाउन भै दियो । कृषकहरु निराश नहुन भन्ने ध्येयले नगरले अभिभावकत्व ग्रहण गरेको हो ।” न्यौपानेले संकलन भएका तरकारी कृषक संग लिएको मुल्यमा विक्री गर्ने र खपत हुन नसकेमा आवश्यक छलफल गरी समस्याको समाधान गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?