रुकुम घटनाको घटनाको निष्पक्ष छानविनको माग गर्दै रामपुरमा प्रदर्शन

पाल्पा, रुकुम पश्चिमको चौरजहारी स्थित सोतीमा घटेको जातीय विभेद र हिंसात्मक घटनाको विरोध गर्दै पाल्पाको रामपुरमा पनि प्रदर्शन सहित शान्ति पूर्ण विरोध सभा भएको छ ।

घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै दलित समन्वय समिति रामपुरले विरोध सभा गरेको हो । जाजरकोट भेरी नगरपालिका ४ राणा गाउँका नवराज वि.क र रुकुम चौरजहारी नगरपालिका ८ सोतीका सुष्मा मल्ल विच प्रेमलाई लिएर ५ जनाको ज्याने गरी भएको आक्रमणको घटनाको विरोध गर्दै नगरपालिकाका दलित संघ संगठन, अधिकारकर्मी र दलित समुदायका युवा तथा युवतीहरुले प्रदर्शन गरेको हो ।


लकडाउनका विच पनि टाउकोको कालो पत्ती बाँधेर निस्कीएका युवा, विभिन्न संघ, संगठनका नेतृत्व, अधिकार कर्मीहरु व्यानर, प्ले कार्ड सहित नारा लगाउँदै बेझाँड बजार बाट निस्किएर बाँङ्गेपसलरोड, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय स्कुलरोड हुँदै बेझाँड बजार परिक्रम गरेका थिए ।
प्रदर्शन पश्चात ¥याली बेझाँड चोकमा शान्ति पूर्ण विरोध सभामा परिणत भएको थियो । दलित समन्वय समिति रामपुरका अध्यक्ष धन बहादुर विश्वकर्माको अध्यक्षतमा भएको विरोध सभामा रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, रामपुर ५ का वडा सदस्य मायाँ नेपाली, दलित वर्ग उत्थान समन्वय समितिका सल्लाहाकार अर्जुन सुनार, यम बहादुर सुनार, दिल बहादुर कौसी, सुन्दर वि.क., राष्ट्रिय लोक तथा दोहोरी गायक प्रेम कुमार गैह्रे लगाएतले बोल्दै २१ औं शताब्दीमा आएर पनि थरको आधारमा हुने हिंसा बढ्दै जानुले मानवता माथि नै प्रश्न उठेको बताएका थिए । घटनाको निन्दा गर्दै, निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न माग गर्दै दण्डहीनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरु वृद्धि भइरहेको बताएका थिए ।
जाजरकोट घर भएर हाल रामपुर नगरपालिकामा कार्यरत सहलेखापाल विनोद पुन मगरले नवराजलाई आफुले नजिक बाट चिनेको बताउँदै यो घटना दलित समुदाय संघ मात्र सिमित नभई सिंङ्गो मानवता संग जोडिएको बताउनुभयो । उनीहरुले जातिय छुवाछुत र विभेदको अन्त्य गरौं, मानव अधिकारको रक्षा गर्दै दलित जातिको उत्थान गरौं, अन्तरजातिय प्रेम गर्नु पाप होईन यसको बदला हत्या होईन, रुकुम घटनाको सम्पूर्ण दोषीहरुलाई हदै सम्मको कार्वाही गर, समाजमा दलित शब्दले हेपिनु पर्छ भने संविधान बाटै दलित शब्द हटाईयोस्, समान्ता र न्याय मूलक समाजको निर्माण गरौं लगाएतका नारा लगाएका थिए ।
सभाको सञ्चालन दलित समन्वय समिति रामपुरका सचिव सञ्जु देवी परियारले गर्नु भएको हो । कोण सभा संगै समितिले ईलाका प्रशासन कार्यालय तथा इलाका प्रहरी कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । साथै समितिले घटना बाट ज्यान गुमाएका नवराज वि.क., टिका सुनार, लोकेन्द्र सुनार, सन्जु वि.क., गणेश बुढा मगर र हाल सम्म पनि बेपता रहेका गोविन्द शाहीको सम्झनामा ६ वटा मैन बत्ती बालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?