लकडाउन जेठ मसान्त सम्म यथावत रहने

काठमाडौं, गत चैत्र ११ गते देखि जारी लकडाउन आउँदो जेठ ३२ सम्मका लागि थप भएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि निरन्तरता दिइएको लकडाउनको अवधि २० जेठमा सकिँदै थियो ।

त्यसैगरी सरकारले अन्तराष्ट्रिय उडान तथा सिमानाका पनि १६ असारसम्म बन्द नै गर्ने निर्णय गरेको छ । लकडाउनको स्वरूप परिवर्तनबारे मन्त्रिपरिषद्बाट निर्णय हुने अपेक्षा गरिए पनि त्यो निर्णय भएन। यद्यपी, लकडाउनको स्वरूपका विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिइएको छ । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको अवधि १२ दिन थप गरिएको सरकारका प्रवक्ता अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

सीमा क्षेत्रबाट आवत जावत बढ्दै जाँदा संक्रमणको जोखिम बढेकाले सुरक्षा व्यवस्था थप कडाइ गर्ने निर्णय पनि बैठकले गरेको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाउने र त्यसका लागि थप निर्णय गर्न गृहमन्त्रालयलाई निर्देशन दिइएको छ । अहिलेको परिस्थितिमा सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले बताउनुभयो ।
कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले गएको ११ चैतदेखि देशभर लकडाउन लागू गरेको थियो। जतिबेला नेपालमा कोरोना भाइरस संक्रमितको संख्या जम्मा दुई थियो। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म देशभर संक्रमितको संख्या एक हजार ४ सय १ पुगेको छ । शनिबार एकैदिन १ सय ८९ जना संक्रमित थपिएका छन् । यसमा शनिबार साँझ अबेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थपिएका १९ जना संक्रमितको विवरण अद्यावधिक गरिएको छैन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ । सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। त्यसपछि सरकारले एकै पटक १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म लम्बाएको थियो । कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्च स्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?