पाल्पा, रामपुर नगरपालिकाकाले भारत बाट फर्किएर क्वारेन्टाईनमा बसेका २९ जनालाई सोमबार होम क्वारेन्टाईनमा पठाएको छ । शहीद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीको क्वारेन्टाईनमा बसेका उनीरुलाई पिसिआर रिपोर्ट नेगेटिभ आए पश्चात पुष्प गुच्छा सहित प्रमाणपत्र थमाएर विदाई गरिएको हो ।
उनीहरुलाई रिपोर्ट नेगेटिभ आएको प्रमाण पत्र संगै पुष्पगुच्छा प्रदान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले क्वारेन्टाईनमा अनुशासन पूर्वक बसेर सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उहाँले थप एक हप्ता घरमा पूर्ण रुपमा सेल्फ क्वारेन्टाईनको पालना गरेर सहयोग गर्न समेत आग्रह गर्नुभयो । थापाले पछिल्लो समय भारत बाट फर्किने युवाहरुको संख्या बढ्दै गए पनि परिक्षणको दायरा घट्दै जाँदा थप समस्या देखिएको बताउनुभयो । उहाँले परिक्षण किटको अभाव रहेकाले संक्रमण थाहा पाउन नसकिएको भन्दै समाज र परिवारको सुरक्षाका लागि क्वारेन्टाईनको अनुशासन पूर्वक पालना गर्नुको विकल्प नभएको समेत बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य सहित सम्बन्धित वडाका वडा अध्यक्ष, राजनैतिक दलका प्रमुख, क्वारेन्टाईन व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
क्वारेन्टाईन व्यवस्थापन समितिका संयोजक हिमाल मल्लले क्वारेन्टाईन निर्माण संगै खानपानको व्यवस्था गर्न सहयोग गर्ने व्यक्ति तथा संस्थाहरु प्रति आभार प्रकट गर्नु भएको थियो । क्वारेन्टाईन व्यवस्थापन समितिका संयोजक हिमाल मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका स्वास्थ्य शाखाका तिर्थ प्रसाद ढुङ्गानाले गर्नु भएको हो । भारत बाट जेठ ७ गते सुनौली नाका आईपुगेका उनीहरुलाई रामपुर नगरपालिकाले जिल्ला प्रशासन संग समन्वय गरी क्वारेन्टाईन सम्म ल्याएको थियो । तानसेन नगरपालिकाले निर्माण गरेको होल्डिङ क्वारेन्टाईनमा एक दिन राखेर पिसिआर परिक्षण पश्चात उनीहरुलाई सिधा क्वारेन्टाईनमा ल्याईएको थियो । उनीहरु मध्ये २८ जना रामपुर र १ जना तनहुँ घिरिङ गाउँपालिकाका रहेका छन् । क्वारेन्टाईनमा रहनेहरुलाई रामपुर नगरपालिकाले खानाको व्यवस्था गरेको थियो । साथै नेपाल रेडक्रस सोसायटी उपशाखा रामपुरले व्यवस्थापनमा सहयोग गरेको थियो ।
यस संगै रामपुर नगरपालिकाका पिसिआर परिक्षण गरिएका ३९ मध्ये ३६ जनाको रिपोर्ट आएको छ । उनीहरुको रिपोर्ट आए पश्चात ३० जनालाई घर पठाईएको रामपुर नगरपालिका स्वास्थ्य शाखाका तिर्थ प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । रामपुर ४ को सीताराममाध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका मध्ये पिसिआर गरिएका ३ जनाको रिपोर्ट नआउँदा रिपोर्ट आए पनि एकै स्थानमा रहेका ६ जनालाई क्वारेन्टाईनमा नै राखिएको छ ।