रामपुरमा २५ वेडको आईसोलेसन वेड तयार

पाल्पा, शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेसन वेड तयार भएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेको हो ।

जेठ २ गते तानसेनमा भएको सर्वपक्षिय बैठक अनुसार निस्दी र रामपुरले रामपुरमा ५० वेडको आईसोलेसन निर्माण गर्ने भनिएको थियो । पछिल्लो समय भारत बाट फर्किने युवाहरुको संख्या वृद्धि संगै कोरोना पोजेटिभ देखिन थाले पछि चार दिन देखि गोरखदल गण रामपुर सुरक्षा गुल्मका नेपाली सेनाले निर्माण सुरु गरेको थियो । ५० वेड निर्माण गर्ने भनिय पनि अहिले तत्कालको लागी २५ बेड तयार भएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

सर्वपक्षिय बैठकमा पाल्पाको १० स्थानिय तह मध्ये निस्दी र रामपुरको सहयोगमा रामपुरमा ५० वेड, रम्भा र पूर्वखोला मिलेर ताहुँमा १० वेड, माथागढी, तिनाउँ, बगनासकाली र तानसेनको सहयोगमा तानसेनमा ५० वेड, रिब्दीकोट र रैनादेवी छहरा मिलेर खस्यौलीमा १० वेडको आईसोलेसन तयार गर्ने निर्णय भएको थियो । संक्रमित देखिन थाले पछि तत्कालको लागि २५ वेड तयार गरिएको र बाँकी थप गर्दै जाने थापाले बताउनुभयो । उहाँले आईसोलेसनमा वेड संगै छुट्टै शौचालय, नुहाउने स्थान, शुद्ध पिउने पानी, क्यान्टिनको व्यवस्था, मोबाईल चार्ज तथा पानी तताउन विद्युत लाईन जडान, इन्टरनेट, आवश्यक सञ्चारका लागि इन्टरफोन जडान, निगरानीको लागि सिसिटीभी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो ।

अहिलेलाई एउटा भवनमा रहेका कोठामा बेड तयार गरिएको छ । अरु बेड क्याम्पसको अन्य ब्लकमा निर्माण गरिदै लगिने निस्दी गाउपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । आईसोलेशन व्यवस्थापन समितिका संयोजक एवं रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले आवश्यक चिकित्सकहरुको व्यवस्था भैसकेको जानकारी दिनुभयो । उहाँले उहाँले पोजेटिभ देखिएका सामान्य विरामीहरुलाई चिकित्सकहरुको निगरानीमा उपचार गरिने बताउनुभयो । आचार्यले आईसोलेशन कक्ष नेपाली सेनाको सुरक्षामा रहने बताउनुभयो । आइसोलेसन बेड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ भने सुरक्षामा नेपाल प्रहरी पनि खटिएको छ ।


हाल रामपुर नगरपालिकामा २ जना र निस्दी गाउपालिकामा २ जना कोरोना पोजेटिभ देखिएको छ । उनीहरु मध्ये निस्दीको तानसेनमा बनेको आइसोलेसनमा लगिएको छ भने अन्य २ जना रामपुर ४ को सिताराम माध्यमिक विद्यालयमा नै छन् । उनीहरु दुवै जनालाई आईसोलेसन निर्माण भए संगै आईतबार विहान सम्ममा ल्याउने तयारी भएको छ । आईसोलेसन कक्षमा रामपुर र निस्दिका कोभिड १९ संक्रमितलाई राखि उपचार गरिने छ । नेपाली सेना, नेपाल प्रहरी,स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक निरन्तर रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?