पाल्पामा थप १२ मा कोरोना पुष्टि, संक्रमित संख्या २१ पुग्यो

पाल्पा, पाल्पामा थप १२ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परिक्षण माथागढी गाउँपालिकाका ११ पुरुष र १ महिलामा पोजिटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अन्तर्गत १२ जनामा कोरोना पुष्टि भएको प्रवक्ता जागेश्वर गौतमले जानकारी गराउनुभएको थियो । यो सँगै पाल्पामा संक्रमित संख्या २१ पुगेको छ ।  उनीहरु पाल्पामा पहिलो पटक सक्रमित देखिएका मध्ये माथागढीका १९ बर्षिय पुरुष संगै एउटै क्वारेन्टाईनमा बसेका थिए । भारत बाट फर्किएर उनीहरु माथागढी ८ को बहादुरपुरको बालविकास आधारभूत विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका थिए । संभावित सम्पर्कमा आएकाहरु मध्ये २२ जनाको स्वाब परिक्षणपछि थप १२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो । यससंगै माथागढी गाउँपालिकामा मात्रै संक्रमितहरुको संख्या १३ पुगेको गाउँपालिका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो । संक्रमितहरु कसेनी र रहवासको क्वारेन्टाइनमा २/२ दिन बसेका थिए ।

कोरोना भाईरस संक्रमितहरुलाई तानसेनको आईसोलेसनमा लैजाने तयारी रहेको गाउँपालिकाले जनाएको छ । अध्यक्ष थापाका अनुसार आज नै लैजान सम्भव नभएको र भोली विहान सम्ममा तानसेनमा निर्माण गरिएको आईसोलेसनमा लगिने बताउनुभयो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  यस अघि पाल्पाको निस्दीमा २ जना, रैनादेवी छहरामा २ जना, माथागढीमा १ जना, रामपुरमा २ जना र पूर्वखोलामा २ जनामा संक्रमण पुष्टि भएको थियो । केहि दिन पहिला पाल्पाको लुम्बिनी मेडिकल कलेजमा स्वाब संकलन गरिएका रुरु १ गुल्मीका पुरुषलाई पाल्पामा गन्ने कि नगन्ने दुबिधा रहेको छ । जस मध्ये पूर्वखोलाका एक पुरुषमा मृत्यु पश्चात मात्र कोरोना पुष्टि भएको थियो ।

पाल्पाका संक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । पछिल्लो समय पाल्पामा झण्डै २२ सय नागरिक भारतबाट भित्री सकेका छन् । जिल्लामा ३ सय ५० भन्दा बढिको स्वाब संकलन भएको छ भने स्थानिय तहले आरडिटी परिक्षण गरिरहेका छन । भारतबाट फर्किएका युवाहरु स्थानिय तहले निर्माण गरेको क्वारेन्टाईनमा रहेका छन् । तर माथागढीमा बुधबार पुष्टि भएको संक्रमितको दरले क्वारेन्टाईन भित्रभित्र संक्रमण फैलिएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?