रिब्दीकोट र तिनाउमा गरी पाल्पाका थप ५ जनामा कोरोना पुष्टि

पाल्पा, पाल्पाको रिब्दीकोट र तिनाउमा गरी थप ५ जनामा विहिबार कोरोना संक्रमण पुष्टि भएको छ । रिब्दीकोट गाउँपालिकाका ४ पुरुष र तिनाउ गाउँपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा २३ वर्षदेखि ५५ वर्ष उमेर समूहका पाँच जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । यस संगै पाल्पामा कोरोना संक्रमितको सख्या ५६ पुगेको छ । बुधबार पनि तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत अर्घाखाँचीका एक जनामा कोरोना परीक्षणका क्रममा पोजिटिभ देखिएको थियो । रिब्दीकोटका ४ जना मध्ये वडा नं १ ख्याहा स्थित सारदा मावि शान्तिचौरको क्वारेन्टाइनमा १ जना, वडा नं ६ ठिमुरे स्थित नवज्योती प्रावि इजरडाडाँको क्वारेन्टाइनमा २ जना र वडा न.७ को पालुङ्गमा रहेको कालिका आधारभूत बतासेको क्वारेन्टाइनका १ जनामा संक्रमण देखिएको हो ।

४ जना संक्रमित जेठ १५ गते भारत बाट आएका थिए । गाउँपालिकाले उनीहरुको पिसिआर परीक्षणका लागि जेठ ३० स्वाव संकलन गरेर प्रादेशिक प्रयोगशालामा पठाएको थियो । स्वस्थ्य अवस्था सामान्य रहेको संक्रमित चारै जनालाई तानसेन स्थित लुम्विनी मेडिकल कलेज प्रवासमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा लैजाने तयारी भएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।
त्यस्तै तिनाउ गाउँपालिका वडा ६ का संक्रमित पुरुष १५ दिन अघि भारतबाट आएर वडा न. ५ चौविसमाईल स्थित कल्याणी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । उनलाई तानसेन नर्सिङ्ग स्कूलमा संयुक्त रुपमा निर्माण गरेको आइसोलेशन सेन्टरमा पठाइएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो । यस अघि रम्भा गाउँपालिकामा १६ जना, बगनासकाली गाउँपालिकामा १ जना, माथागढी गाउँपालिकामा १४ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउँपालिका १२ जना व्यक्ति कोरोनाबाट सक्रमित भएका छन् । एक जना सक्रमितको उपचारको क्रममा मत्यु भएको थियो । एक जना उपचारका लागि आएका गुल्मीको पुरुषमा पनि संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?