रामपुरमा एकै दिन दुई झोलुङ्गे पुलको शिलन्यास

पाल्पाको रामपुरमा एकै दिन दुई वटा झोलुङ्गे पुल शिलन्यास भएको छ । रामपुर नगरपालिका वडा नं. ६ को प्याकलुक र वडा नं. ८ को सेरा जोड्ने प्याकलुक घाट झोलुङ्गे पुल र रामपुर नगरपालिका वडा नं. ४ को खोप्टार काँसजरी जोड्ने पाटीखोला झोलुङ्गे पुल शुक्रबार शिलन्यास भएको हो ।
पुलको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले वैदिक विधी पूर्वक शिलन्यास गर्नु भएको हो । पुलको शिलन्यास गर्दै थापाले पछिल्लो समय पक्की पुलको निर्माण बढ्दै गए पनि झोलुङ्गे पुलको महत्व पनि कायम नै रहेको बताउनुभयो । थापाले दुई स्थान विचको सम्बन्ध कायम गर्न तथा कृषि र पर्यटनको विकासका लागि झोलुङ्गे पुलले ठूलो सहयोग गर्ने बताउनुभयो । थापाले निर्वाचनको समयमा दिएको बचन तीन तहको सरकार र सरोकारवालाहरुको समन्वयमा यथार्थमा परिणत भएको बताउनुभयो ।
प्याकलुक घाट झोलुङ्गे पुल शिलन्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा तानसेन नगर कमिटि अध्यक्ष रामप्रसाद पोखरेल, रामपुर नगर कमिटि अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर नगरपालिका वडा नं. ८ का वडा सदस्य मोहन प्रसाद श्रेष्ठ, समाजसेवी देवराज ढकालले बोल्दै पुल निर्माणले सेरा र प्याकलुक क्षेत्रका स्थानीयहरुलाई खेती गर्न घुमेर जानु पर्ने समस्या समाधान हुने बताउँदै स्तरिय निर्माणमा ध्यान दिन आग्रह गरेका थिए । सामाजिक तथा प्राविधिक सहयोगी संस्था इन्द्रेणी समाज केन्द्रका इन्जिनियर यम बहादुर रानाले पुलको संरचना, लागतका बारेमा जानकारी दिनु भएको थियो ।
प्याकलुक घाट झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुमार अर्यालले समितिले गुणस्तरलाई विशेष ध्यान दिएर समयमा काम सक्ने गरी निर्माणलाई अघि बढाउने बताउनुभयो । अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष कृष्ण ढुङ्गानाको स्वागत र माधव पंगेनीको सञ्चालन भएको हो । ९४ मिटर लामो प्याकलुक घाट झोलुङ्गे पुल रामपुर नगरपालिकाको २ लाख ७७ हजार ९ सय ८६ रुपैयाँ २० पैसा, स्थानियको श्रमदान ९२ हजार ६ सय ६२ रुपैयाँ ०७ पैसा, क्षेत्रगत कार्यक्रमको नगद ३७ लाख ९१ हजार ९३ रुपैयाँ ९२ पैसा सहयोग र जिन्सी ४ लाख ७१ हजार ६ सय ६१ रुपैयाँ ८ पैसा गरी ४६ लाख ३३ हजार ४ सय ३ रुपैयाँ २७ पैसाको लागतमा निर्माण हुन लागेको हो ।
त्यस्तै पाटी खोला झोलुङ्गे पुलको शिलन्यास कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उप्रमुख विष्णु देवी घिमिरे आचार्यले झोलुङ्गे पुलले खोप्टार र काँसजरी हिड्ने स्थानियहरुलाई थप सहज हुने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, रामपुर नगरपालिकाका सल्लाहकार देवराज ढकाल, रामपुर नगरपालिकाका इन्जिनियर कृष्ण थापा, इन्द्रेणी समाज केन्द्रका इन्जिनियर यम बहादुर राना, प्याकलुक घाट झोलुङ्गे पुलका उपभोक्ता समिति अध्यक्ष कृष्ण कुमार अर्यालले लगाएतले आफ्नो भनाई राखेका थिए ।
खोप्टार र काँसजरी जोड्ने झोलुङ्गे पुल ३२ लाख २५ हजारको लागतमा निर्माण हुन लागेको उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर थापाले जानकारी दिनुभयो । पुलको कुल लम्बाई ६२ मिटर रहेको छ । उपभोक्ता समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इन्द्र बहादुर घर्तीले गर्नु भएको हो । दुवै पुल निर्माणमा सामाजिक तथा प्राविधिक सहयोग इन्द्रेणी समाज केन्द्र नेपालले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?