पाल्पामा कोरोना संक्रमण बढ्दै, मंगलबार सम्ममा २ सय ३४ जनामा पोजेटिभ

पाल्पा, पाल्पामा कोरोना संक्रमितको संख्या २ सय ३४ पुगेको छ । पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका र बगनासकाली गाउँपालिकामा गरी मंगलबार ५८ जनामा कोरोना सक्रमण पुष्टि भए संगै २ सय ३४ पुगेको हो ।

पूर्वखोलाका ३३ जना पुरुष र ४ जना महिला गरी ३७ जना, बगनासकाली गाउँपालिकामा ११ पुरुष र माथागढीमा १० जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रिपोर्ट पोजेतिभ देखिएको पाल्पाका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टाईले बताउनुभयो । पूर्वखोला गाउँपालिकामा देखिएका ३७ जना नागरिक जेठको दोस्रो हप्ता भारतबाट आएर वडा नम्वर ६ र १ को क्वारेन्टाइनमा बसेका थिए । यस संगै पूर्वखोला गाउँपालिकामा संक्रमितको संख्या १ सय २९ पुगेको छ ।

यता बगनासकाली गाउँपालिकामा देखिएका ११ जना नागरिक जेठ ११ गते भारतबाट आएर वडा नम्वर १ र ३ मा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुलाई तानसेन मिसन स्थित भूषल डाँडा माविमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा पठाई सकिएको छ । यस संगै बगनासकालीमा संक्रमितको संख्या २८ पुगेको छ । त्यस्तै माथागढी भारत र तेस्रो मुलुकबाट आई वडा नम्वर १, २, ३ र ४ मा निर्माण गरिएका क्वारेन्टाइनमा बस्दै आएका १० जनामा संक्रमण देखिएको हो । गाउँपालिकामा यो सँगै सक्रमितको संख्या २७ पुगेको छ ।

यस अघि रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ७ जना निको भई घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?