पाल्पा, पाल्पामा बुधबार थप १४ जनामा कोरोना पुष्टि भएको छ । रामपुर नगरपालिकाको विभिन्न क्वारेन्टाईनमा रहेका १४ जना पुरुषमा संक्रमण देखिएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो । उनीहरु तीन हप्ता अघि भारतबाट आएका थिए । उनीहरु मध्ये ८ जना वडा नं. ९ मछेर्लुङको प्रगतिशिल प्रावि र ४ जना वडा नं. ९ को भानुभक्त मावि, २ जना वडा नम्वर ५ को बालकल्याण प्राविमा निर्माण गरिएको क्वारेन्टाइमा बस्दै आएको रामपुर नगरपालिका स्वस्थ्य शाखाका तिर्थ प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामन्य रहेको छ ।
उनीहरुलाई बुधबार नै आईसोलेसन लैजान नसकिएकाले विहिबार विहान शहीद बहुमुखी क्याम्पसमा निर्माण गरिएको आईसोलेसन लगिने स्वास्थ्य शाखाका गिरिराज घिमिरेले बताए । उनीहरु १७ वर्ष देखि ५४ वर्ष उमेर समुहका रहेका छन् । योसँगै रामपुरमा संक्रमितको संख्या १६ पुगेको छ । जसमा २ जना निको भएर मंगलबार मात्र घर फर्किएका छन् । जिल्लामा संक्रमितको संख्या दिनहुँ बढ्दै्र गएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको छ । यस अघि बगनासकालीमा २८, पूर्वखोलामा १ सय २९, माथागढी २७, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ जना, रिव्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जना, तिनाउँ गाउँपालिकामा ३ जना, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ७ जना निको भई घर फर्कि सकेका छन् ।