रामपुरमा एकै दिन ७५ जनामा कोरोना पोजेटिभ देखियो

पाल्पा, रामपुर नगरपालिकामा शुक्रबार एकै दिन ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देही सहित विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । भारत बाट फर्किएर क्वारेन्टाईनमा रहेकाहरुको स्वाव परिक्षण गर्दा ७४ पुरुष र १ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

रामपुर नगरपालिका स्वास्थ्य शाखाका अनुसार दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुरमा रहेका ३४ जनाको परिक्षण गर्दा ३२ जनामा पोजेटिभ आएको छ । उनीहरु जेठ १६ गते मुम्बाई, इन्दोर, राजस्थान र दिल्ली बाट फर्किएर क्वारेन्टाईनमा बसेका थिए । त्यस्तै जनशान्ति माध्यमिक विद्यालय रामपुर ९ मा २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । क्वारेन्टाईनमा रहेका ३२ जनामा ३१ जनाको रिपोर्ट आउँदा २२ जना पोजेटिभ देखिएको हो । चन्द्रोय माध्यमिक विद्यालय रामपुर १ को क्वारेन्टाईनमा रहेका १३ जना मध्ये ७ जनामा पोजेटिभ देखिएको छ । जनविकास माध्यमिक विद्यालय रामपुर ३ रजघरामा रहेका २७ जना मध्ये १२ जनामा पोजेटिभ देखिएको रामपुर नगरपालिका स्वास्थ्य शाखाका तिर्थ प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । यता गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटारमा भने ३३ जना मध्ये २४ जनाको रिपोर्ट आउँदा १ जनामा पोजेटिभ देखिएको छ ।

यस संगै रामपुरमा संक्रमितको संख्या ९१ पुगेको छ । विहिबार रामपुर नगरपालिका ९ प्रगतिशिल प्राविमा ८ जना, वडा नं. ९ को भानुभक्त माविमा ४ जना र वडा नं. ५ को बालकल्याण प्राविमा २ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य शाखाका अनुसार नगरपालिकाले पठाएको ३ सय ८५ स्वाव नमुना मध्ये २ जनाको ३२ जनाको मात्र रिपोर्ट आएको छ । गत जेठ २१ गते कोरोना पोजेटिभ देखिएका २ जना भने निको भएर घर फर्किएका छन् । संक्रमित देखिएका सबैलाई आईसोलेशन ल्याउन सम्भव नभए पछि क्वारेन्टाईनमा छुट्टै ब्लक गराएर राख्ने तयारी भैरहेको छ । यस्तै शुक्रबार नै तानसेन नगरपालिकामा २ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार ७७ जनामा कोरोना पुष्टि भए संगै जिल्लामा संक्रमितको संख्या ४ सय ४६ पुगेको छ ।

पाल्पाको १० स्थानिय तह मध्ये पूर्वखोला १ सय ४७ जना, निस्दीमा ९५ जना, रामपुरमा ९१ ज्ना, बगनासकालीमा २८, माथागढीमा २७, रम्भामा २२, रैनादेवी छहरामा २०, तिनाउँमा ४, तानसेनमा ५ र रिब्दिकोटमा ४ जनामा पोजेटिभ देखिएको छ । लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना सक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने रम्भाका ८ जना, रैनादेवीछहराको २ जना, रामपुरको २ जना, रिब्दीकोट, निस्दी र पूर्वखोलाका १÷१ जना निको भएर फर्किएका छन् । त्यस्तै गुल्मी रुरुका एक जना गरी १६ जना निको भई घर फर्कि सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?