बाँदर पिडित किसानलाई ‘बाँदर धपाउने यन्त्र’

पाल्पा, कालीगण्डकी फाउण्डेशन नेपालले रामपुर नगरपालिकाका कृषकहरुलाई बाँदर धपाउने यन्त्र प्रदान गरेको छ । वडाहरु समन्वय गरी फाउण्डेशनले बेझाँडका जायश्वर पाण्डे र तिर्थ पाण्डे दाजुभाईले तयार पारेको. उपकरण प्रदान गरेको हो ।

नगरको डाँडा क्षेत्र र फाँटको जंगल संग जोडिएका बस्तीहरुमा वर्षेनी बाँदरकै कारण नोक्सान भोग्दै आएका कृषकहरुलाई राहत स्वरुप यन्त्र हस्तान्तरण दिएको हो । नगरपालिका तथा वडामा बाँदर आतंकको गुनासो आईरहेको अवस्थामा देशका विभिन्न स्थानमा जस्तै प्लम्बिङ्ग पेशामा आवद्ध पाण्डे दाजुभाईले युट्युव हेरेर यन्त्र तयार पारेका थिए । उनीहरुले तयार गरेको यन्त्रको परिक्षण संगै फाउण्डेशनले नगरका वडाहरु संग समन्वय गरी वितरण गरेको हो ।

पहिलो चरणमा शुक्रबार फाउण्डेशनको कार्यालय रामपुर ५ नहर अफिसमा कार्यक्रम गरी वडा नं. १, ३, ४, ५ र ७ का कृषकहरुलाई शुक्रबार वितरण गरिएको छ । कृषकहरुलाई यन्त्र हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बाँदरलाई एक ठाउँ बाट लखेटेर लगे पनि अर्को ठाउँमा समस्या ल्याउने हुनलो उपयुक्त यन्त्रको खोजीमा नगरपालिका रहेको जानकारी दिनुभयो । थापाले भन्नुभयो, ‘विगतका वर्ष देखि बाँदर आतंक रोक्न नगरले बजेट विनियोजन गर्दै आएको थियो । उपयुक्त सामाग्री नपाए पछि बाँदरलाई मन नपर्ने बाली तथा फलफुल लगाउन किसानलाई सुझाव दिएका थियौं ।’ थापाले यन्त्रले केही भए पनि कृषकहरुलाई फाईदा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य स्थानमा यस्ता यन्त्रको प्रयोग गर्न थालिएको भन्दा उतै बाट खरिद गर्ने तयारी गरेका थियौं । तर नियमले एक स्थान बाट अर्को स्थानमा लैजान नमिल्ने भयो । स्थानीय युवाहरुले तयार पार्नु भयो यो हाम्रा लागि खुशीको कुरा हो ।’
फाउण्डेशनले गरेका कामको प्रशंसा गर्दै नगर प्रमुख थापाले कृषकहरुलाई यन्त्रको सहिसदुपयोग गर्न आग्रह गर्नुभयो । थापाले नगरपालिकाले यन्त्रहरुको प्रयोगको अवस्था, प्रभावकारीता बारे नगरले निगरानी राख्ने बताउनुभयो । साथै थापाले बाँदर आतंक नियन्त्रणका लागि नगरपालिकाले आवश्यक कदम चाल्ने बताउनुभयो । नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले कृषकहरुले विगत देखि पशु चौपायाको सिङ, पाईप फुकेर वा भाँडा बजाएर धपाउने प्रयास गरेकोमा यस उपकरणले थप टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले युवाहरुले कृषकहरुको सहजताको लागि गरेको प्रयास अति सह्रानीय रहेको बताउनुभयो ।

कार्यक्रममा डिजिटल माध्यम बाट जोडिनु भएका कालीगण्डकी फाउण्डेशनका सल्लाहाकार सन्दिप रानाले पुस्तौ देखि झेल्दै आएको समस्या समाधानमा केही हद सम्म राहत मिल्ने बताउनुभयो । उहाँले विदेश पलायन भैरहेका युवा पछिल्लो समय गाउँ फर्किने क्रम बढेको भन्दै उनीहरुलाई कृषिमा व्यवसायिक बन्न यन्त्र उपकरणले थप उत्प्रेरणा जगाउने बताउनुभयो । कार्यक्रममा यन्त्र निर्माण गर्ने युवा जायश्वर पाण्डेले प्रयोगको विधि र यसको प्रभावकारिताको विषयमा जानकारी गराउनु भएको थियो ।
रामपुर ७ का कृषक कर्ण बहादुर लुईटेलले यन्त्र पाए संगै अब बाली बचाउन सहज हुन्छ की भन्ने आशा जागेको बताउनुभयो । पाण्डे दाजुभाईले साढे २ फिट लामो ४ इन्च र ३ फिट लामो २. ५ इन्चको पिभिसी पाईप जोडेर तयार गरेको उपकरण केही समय अघि इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र नगरपालिकाको रहोवरमा परीक्षण गरिएको थियो ।
उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बाेहाईड’ र पानीको मिश्रण राखेर पछाडीबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर तर्सिएर भाग्ने विश्वास लिईएको छ । फाउण्डेशनले पहिलो चरणमा ५० वटा र पछि ५० वटा गरी एक सय यन्त्र वितरण गर्न लागेको संस्थाका उपाध्यक्ष पवित्रा पौडेल ढकालले बताउनुभयो । उनीहरलाई यन्त्र संगै केही ‘क्याल्सियम कार्बाेहाईड’ र ग्यास लाईटर पनि प्रदान गरिएको छ । उहाँले कृषिको राम्रो सम्भावना भए पनि बाँदरकै कारण अन्य पेशामा पलायन नहोस् भन्ने उद्देश्यले यन्त्र वितरण गरिएको बताउनुभयो ।
कार्यक्रमको अवसरमा उपकरण तयार गर्ने जायश्वर पाण्डे र तिर्थ पाण्डे दाजुभाईलाई दोसला ओढाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष ढकालको अध्यक्षतामा भएको वितरण कार्यक्रम सदस्य सञ्जु परियारको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?