रामपुरका कृषकलाई आँप र लिचीका बिरुवा वितरण

पाल्पा, फलफूल खेतीमा नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ रामपुर नगरपालिकाले कृषकहरुलाई मागको आधारमा विरुवा वितरण गरेको छ । रामपुर नगरपालिका कृषि शाखाले कृषकहरुलाई थप ५ हजार आँप तथा लिचीका विरुवा वितरण गरेको हो ।

कृषकहरुलाई विरुवा वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विरुवाको सहि हेरचाह गरी नगरलाई फलफुलमा आत्मनिर्भर बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । थापाले नगरले दिएको अनुदानका कार्यक्रमको नगरपालिकाले आवश्यक नियमन गर्ने बताउँदै सोही अनुसार आगामी कार्यक्रम गरिने जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत ऋषिराम आचार्यले अनुदानलाई प्रोत्साहनको रुपमा लिएर अघि बढेमा मात्र कार्यक्रमले थप सार्थकता पाउने बताउनुभयो । रामपुर नगरपालिका आर्थिक विकास समितिका सदस्य कमलराज भट्टराईले प्राप्त अनुदानको सहि सदुपयोग आर्थिक रुपान्तरणको लागि सहज हुने बताउनुभयो । रामपुर नगरपालिका कृषि शाखाका प्रमुख रामहरी पाण्डेले अहिले २ हजार ५ सय आँप र २ हजार ५ सय लिचीका विरुवा वितरण गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख पाण्डेले गर्नु भएको हो ।
कृषि शाखाले यस अघि पनि वडाहरु संग सहकार्य गरी मागको आधारमा ११ हजार भन्दा बढी कागती तथा सुन्तलाका विरुवा वितरण गरेको थियो । नगरपालिका र वडाहरु मार्फत कागती १० हजार, सुन्तला एक हजार, अमिलोका तीन सयका बिरुवा केहीसमय अघि वितरण गरिएको थियो । रामपुर नगरपालिका वडा नं. ८ ले पनि मागको आधारमा २ हजार ३ सय सुन्तला र २ हजार ७ सय कागतीको विरुवा वितरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?