ट्रिगार्ड सहित पर्यटकिय स्थल तालपोखरा क्षेत्रको सडकमा वृक्षरोपण

पाल्पा, रामपुर नगरपालिका ६ तालपोखरा क्षेत्रको मुख्य सडक वृक्षरोपण गरिएको छ । रामपुर नगरपालिकाको प्रमुख पर्यटकिय गन्तव्य तालपोखरा क्षेत्रको नमुना सडकको दायाँबायाँ मंगलबार ट्रिगार्ड सहित वृक्षरोपण गरिएको हो ।
गत वर्ष तानसेन नगरपालिकाका सडकमा वृक्षरोपण गरेको डिभिजन वन कार्यालय पाल्पाले सडक सौन्दर्यकरण कार्यक्रम अन्तर्गत यस वर्ष रामपुरमा वृक्षरोपण गरेको हो । वन कार्यालयले रामपुर नगरपालिका संग समन्वय गरी सडकको दुवै तर्फ ट्रिगार्ड राखेर १ सय ७५ वटा विरुवा रोपेको हो । विरुवाको संरक्षणको लागि फलामको ट्रिगार्ड राखिएको छ ।
वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले यस कार्यक्रमले सडक वरपरको वातावरण हरियाली बनाउन सहयोग पुग्ने बताउनुभयो । सडक मापडण्द पुगेका मध्ये अहिलेलाई तालपोखरा क्षेत्रमा वृक्षरोपण गरिएको बताउनुभयो । थापाले नगरका अन्य सडकहरु फराकिलो गराउन बाँकी रहेकाले यस वर्ष पर्यटकिय स्थल तालपोखरामा वृक्षरोपण गरिएको र आगामी वर्ष नगरपालिकाले समन्वय गरेर अन्य स्थानमा पनि कार्यक्रम गर्ने बताउनुभयो । डिभिजन वन कार्यालय पाल्पाका सव डिभिजन अधिकृत अर्जुन चापागाईले गत वर्ष सडक सौन्दर्यकरण कार्यक्रम तानसेनमा गरिएको र यस वर्ष रामपुरमा गरिएको जानकारी दिदै विरुवाको संरक्षण र सम्वद्र्धनमा स्थानियको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
सव डिभिजन वन कार्यालय रामपुरका सहायक वन अधिकृत मरिचमान लामाले ५ लाख रुपैयाँको लागतमा ट्रिगार्ड सहित १ सय ७५ वटा विरुवा लगाईने जानकारी दिनुभयो । उहाँले सडकको दायाँ र बायाँ दुवै तर्फ ४/४ मिटरको दुरीमा १ सय ६० वटा अशोका र १५ वटा कपुर रोप्न लागिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?