सडक विस्तारका कारण रामपुर १ स्याउली बजारका ५ घर जोखिममा

तस्वीर पत्रकार दानस मल्लकाे फेसबुक मार्फत

पाल्पा, सडक विस्तारका कारण खसेको पहिरोले रामपुर नगरपालिका १ स्याउली बजारका ५ घर जोखिममा परेको छ । सांसद विकास कोष मार्फत चौडा पारिएको स्याउली बजार मित्याल सडकमा वर्षाद संगै पहिरो झरेपछि घरहरु जोखिममा परेको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा स्याउली बजार–मित्याल मोटर बाटो मध्ये स्याउली बजार पिपल डाँडा खण्डमा पनि चौडा बनाउने काम भएको थियो । निर्माणकार्यको जिम्मा पाएका ठेकेदारले काम पूरा नगरी सडक अलपत्र पारेर छोड्दा सडकघरहरु जोखिममा परेको स्थानिय सुर्य श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नु भयो, ‘माथि बाट खसेको माटो सहितको भेल घर भित्रै पस्ने गरेको छ । स्थानियले माटो हताएर छेक्ने प्रयास गरेका छौं । ठूलो पहिरो खस्न सक्ने हुनाले हामी जोखिममा छौं ।’

स्थानिय एवं पत्रकार दानस मल्लले ५ वटा घर उच्च जोखिममा रहेको जानकारी दिनुभयो । उहाँले घुम्ती बाट पहिरो खसेर कालीगण्डकी करिडोर तलका बस्तीहरुमा पहिरोका माटो पुगेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले काम अलपत्र छाडेर हिड्दा जोखिम निम्त्याएको बताउनुभयो । स्थानिय सुर्य श्रेष्ठ, दानस मल्ल, नेत्र बहादुर मल्ल, दान कुमारी मल्ल लगाएतको घर जोखिममा परेको हो । वर्षाद संगै माटो खस्ने क्रम भने रोकिएको छैन ।

६ करोडको लागतमा सांसद विकास कोष मार्फत स्याउली बजार मित्याल खण्डका विभिन्न स्थानमा निर्माणको कार्य भएको थियो । सडक विस्तारका कारण कुनै बेला हरित मार्गको रुपमा निर्माण भएको सडकहरु अहिले गाडी त परको कुरा मान्छे हिड्न नसक्ने अवस्थामा पुगेको छ । पाल्पाको पूर्वी क्षेत्रका अधिकांश स्थानको सडक संगको सम्बन्ध टुटेको छ । यस्तै रामपुर नगरपालिका वडा नं. १ को कालीगण्डकी करिडोर अन्तर्गतको खटाङ्ग देखि स्याउली बजार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्द भएको अबस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?