प्रशंसा बटुल्दै बर्दीमा क्वारेन्टाईनका युवाहरु संगै नाचेका प्रहरी जवान (भिडियाे सहित)

पाल्पा, क्वारेन्टाईनमा रहेका युवाहरु संगै छमछमी नाचेका इलाका प्रहरी कार्यालय रामपुरका एक प्रहरी जवानले यति बेला चर्चा बटुल्न सफल हुनु भएको छ । क्वारेन्टाईनमा रहेका युवाहरुको सुरक्षामा खटिएका २६ वर्षिय प्रहरी जवान जय प्रकाश चौधरीको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

प्रहरी भन्ने वित्तिकै अपराधी समाउने, सजाय दिने जस्ता बुझाई रहेकोमा उहाँको व्यवहारले प्रहरीले समाज रुपान्तरणसंगै पिडामा रहेकाहरुलाई साथ पनि दिन्छन् भन्ने सन्देश दिएको भन्दै निकै प्रशंसा भएको छ । भारत तथा तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेका युवाहरुको हौसलाका लागि बर्दी मै नाच्नु भएको उहाँको भिडियो हेर्ने जो कोहीले समग्र प्रहरी संगठनको प्रसंशा गरेका छन् । ईलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत दाङको राप्ती गाउँपालिका ८ देउखुरीका चौधरी लकडाउन सुरु भएसंगै रामपुर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनको सुरक्षामा खटिनु भएको थियो ।

अधिकांश क्वारेन्टाईनको नजिक पर्न डराए पनि उहाँले वडा नं. ५ को बालकल्याण प्राथमिक विद्यालयको क्वारेन्टाइन र वडा नं. ४ को सीताराम मावि सदावर्तको क्वारेन्टाइनमा गरी ९४ दिन सम्म २४ सै घण्टा खटिनु भएको थियो । बालकल्याणको क्वारेन्टाइन पश्चात जेठ १२ गते भारतबाट आएका १३ जना युवाहरुलाई क्वारेन्टाइनमा राखेसंगै उहाँ सुरक्षार्थ पुन सीताराम माध्यमिक विद्यालयमा खटिनु भएको थियो ।

सोही क्रममा क्वरेन्टाइन स्थलमा तानेको डोरी बाहिर उहाँ र भित्र युवाहरु नाचेको भिडियो भाईरल भएको हो । भिडियो असार ९ गते अपलोड भए पनि भिडियोले अहिले आएर सामाजिक सञ्जाल फेसबुकको भित्ता भरिएको छ । १३ जना युवाहरु मध्ये २ जनामा संक्रमण देखिएसंगै कन्ट्रयाक ट्रेसिङ्गमा परेका ११ जनालाई जेठ २६ गते स्वाव संकलनपछि क्वारेन्टाइनमै राखिएको थियो । चौधरीले भन्नुभयो, ‘लामो समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बस्नेहरु आत्तिएका थिए । कतिपय त भाग्छु भनेका थिए । गित बजाउन स्पिकर ल्याए पछि दिन कटाउन उनीहरुलाई सहज भयो । भाग्छु भन्न छाडे ।’

उहाँले युवाहरुलाई साथ दिन र हौसला बढाउनका लागिसँग संगै नाचेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘यसरी भिडियो भाईरल होला भनेर त एक मनले पनि सोचेको थिएन । उनीहरुसंगै दुरी कायम गरे नाच्दै रमाउँदै आएका थियौ । ८ गते ११ जनाको रिपोर्ट नेगेटिभ आयो । खबर सुने पछि उनीहरु रातभरी नाचेका थिए । संगै मैले पनि साथ दिएको थिएँ ।’ सोही समयको नाचेको भिडियो क्वारेन्टाइनमा रहेका रामपुर ९ का देव खन्गाहा मगरले असार ९ गते फेसबुकमा पोष्ट गर्नुभएको थियो । ८ वर्षदेखि प्रहरी सेवामा रहनु भएको चौधरीलाई २÷३ दिन यता भिडियो भाईरल भए संगै धन्यवाद सहितको फोन आउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?