राधा कृष्ण मन्दिर बेझाँडमा जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सुरु

पाल्पा, राधा कृष्ण मन्दिर रामपुर नगरपालिका ५ बेझाँडमा जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा आएको छ । जेष्ठ नागरिकहरुलाई आफ्ना दौतरी संगै भलाकुसारी गरेर खुशीका साथ दिन विताउन सहज होस् भन्ने उद्देश्यले रामपुर नगरपालिकाले मिलन केन्द्र सञ्चालन गरेको हो ।

आफ्ना उमेर समुहका दौतरी संगै विगतका अनुभवहरु साटासाट गर्ने, भलाकुसारी गर्ने, भजन कृतन गर्ने, धार्मिक पुस्तकहरु अध्ययन गर्ने गराउने जस्ता क्रियाकलाप मार्फत जेष्ठ नागरिकहरुलाई रमाईलो गरेर दिन बिताउने अवसर प्रदान गर्नका लागि मिलन केन्द्र सञ्चालनमा ल्याएको हो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख विष्णु देवी घिमिरे अचार्य र प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पौडेलले संयुक्त रुपामा राधा कृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष शिव कुमारी वाग्लेलाई मिलन केन्द्रको लागि सामाग्री हस्तान्तरण गरेर जेष्ठ केन्द्रको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पछिल्लो समय विदेशीको संस्कृतिको प्रभावका कारण नेपालमा पनि आफ्ना सन्तान बाट आमा बाबु अपहेलित हुने गरेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले जेष्ठ नागरिक जिउँदो भगवान रहेको भन्दै उहाँहरुलाई खुशी राख्न सके र सेवा गर्न सकेमा अझ अघि बढ्न प्रेरणा मिल्ने बताउनुभयो । पछिल्लो समय वृद्धहरुलाई दिन कटाउन मुस्किल पर्दै गएको भन्दै थापाले अहिले बेझाँडमा मात्र केन्द्र सञ्चालन गरेको र आगामी दिनमा फरक धर्म संस्कृतिलाई पनि समेट्दै वडागत रुपमा जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालन ल्याउने गरी नगरपालिका लागेको बताउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले हाम्रा संस्कृतिहरु हराउँदै गएको भन्दै संरक्षणको लागि जेष्ठ नागरिकहरुको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरु अनुभवको खानीरहेको समेत बताउनुभयो । सरकारले अवलम्बन गरेको निती अनुसार आफ्ना दौतरी संगै भलाकुसारी गरेर दिन विताउन सहज होस् भन्ने लक्ष्यले केन्द्र सञ्चालन गरिएको बताउनु भयो । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले मानव जीवनमा बालापन र वृद्ध अवस्थामा संगीसाथीको आवश्यक पर्ने भन्दै यसको लागि मिलन केन्द्रले ठूलो सहयोग गर्ने बताउनुभयो । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमारी वाग्लेले मन्दिरले लिएको लक्ष्य आज पुरा भएको महशुस भएको भन्दै दिगो सञ्चालनमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका उद्देश्यका बारेमा जानकारी दिदै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले घरमा मात्र एक्लै बस्दा वृद्धवृद्धाहरुमा एक्लो पन महसुस हुने भएकाले रमाईलोका साथ दिन विताउन सहज होस् भन्ने लक्ष्यका साथ मिलन केन्द्र सञ्चालन गरिएको बताउनुभयो । जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र संरक्षण समितिका संयोजक समेत रहेका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको रामपुर नगरपालिकाका महिला विकास सहायक निरिक्षक पुजा परियारको सञ्चालनमा भएको हो । नगरपालिकाका महिला विकास निरिक्षक प्रतिमा मल्लको अनुसार तत्कालको लागि मन्दिरको हललाई प्रयोग गरी आवश्यक नगरपालिकाले भजन कृतनका लागि सामाग्री, धार्मिक पुस्तक, खेल सामाग्री, चियानास्ताको लागि सामान र बस्ने बसाईको व्यवस्था गरिएको छ । उहाँले तत्कालको लागि बसाई व्यवस्थापनको लागि कार्पेट विछ्याएर २५ वटा कुशन राखिएको बताउनुभयो । उहाँले भजनकृतनका लागि एक थान टेवल, मजुरा ३ जोडी, करताल २ जोडी, झ्याली १ वटा, खैजडी सानो ३ वटा र ठूलो २ वटा, धार्मिक पुस्तक ३० वटा, खेलको लागि लुडो पनि खरिद गरिएको जानकारी दिनुभयो । साथै चियापानको लागि चुल्हो सेट, भाँडाहरु पनि खरिद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?