आज साउने सक्रान्ति, लुतो फाल्ने दिन

पाल्पा, आज साउने सक्रान्ति अर्थात लुतो फाल्ने दिन । मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा आज साउने सक्रान्ति पर्व मनाउने प्रचलन रही आएको छ ।
आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । असार महिनाभर हिलोमा पसेर काम गर्दा लुतो आउन सक्ने भएकाले किसानहरु शरिर सफा राखी किसानहरु लुतो फाल्ने गर्दछन् । धेरै गर्मी हुने र निरन्तर झरि पर्ने तथा कृषकहरु कृषिकार्य गर्दा पानीमा भिज्ने, माटोमा खेल्ने जस्ता कार्यका कारण मानिसलाई यो महिनामा विभिन्न किसिमका छालासंग सम्बन्धित रोगहरु विषेश गरि लुतो, दाद, घमौरा आउने बढी सम्भावना रहने हुनाले लुतो फाल्ने आ–आफ्नै जनविश्वास रहेको छ । यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वास छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ ।
कतै भने आज बेलुका साझ परेपछि पैयाको हाँगा, कुरिल्लो आदि राखेर आगोको राको लाई फाल्ने चलन पनि छ । साउन महिनाभरि अत्यन्त वर्षा हुने भएकोले यसलाई ‘पावस ऋतु’ पनि भनिन्छ । कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ । महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकीले सोमबारको व्रतको महत्व छ । विगतमा गाउँघरमा साउने सक्रान्तिमा तिउरी लगाउने प्रचलन भए पनि पछिल्लो समय भने हराउँदै गएको छ । मेहेन्दीको प्रयोग बढे संगै यसको प्रयोग हराएको हो ।

के हो लुतो फाल्ने भनेको ?
परम्परागत रूपमा एक हिसाबले यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ । विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ । साथै, कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ(आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ ।

पौराणिक विश्वास
वर्तमान समयमा प्रचलनमा रहेको मेषादि निरयण १२ राशिचक्र मध्ये चौथो साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।यस अन्तर्गत कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर–घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ । लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?