सामाजिक सुरक्षा भत्ता घटाएर पठाएको प्रति नेकपा रामपुरको आपत्ति

पाल्पा, रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता घटाएर पठाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुर नगर कामिटीले आपत्ति जनाएको छ ।

सातौं नगर सभामा नेकपाका जनप्रतिनिधिहरुले राखेका मागका विषयमा कुनै सुनुवाई नभएको भन्दै रामपुरमा नेकपाले गरेको पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा राख्दै आपत्ति जनाएको हो । पत्रकार  सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमल राज भट्टराईले भन्नुभयो, ‘सामाजिक सुरक्षाभत्ता सरकारले नगरपालिकाले जति माग गरेको हो त्यति आको छ । केन्द्रिय सरकारले भत्ता कटौटी गर्न भनेको छैन ।’

उहाँले नगरपालिकाले हाम्रा वृद्ध बुबा आमाहरुको भत्ता ४ दशमलव ५ प्रतिशत कट्टा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले सुनेको छु १४ लाख रुपैयाँ फ्रिज भयो रे । यता ४.५ प्रतिशत कटौटी भयो । यता १४ लाख फिर्ता भयो । यस्तो के नियत हो ?’ उहाँले सामाजिक भत्ता केन्द्रले भने अनुसार दिनु पर्ने र लिखित रुपमा निर्णय गर्न माग गरे पनि सुनुवाई नभएको बताउनुभयो ।
नगर सभा सदस्य समेत रहनु भएको भट्टराईले पार्टीका तर्फ बाट आफ्ना धारणा राख्दै बजेट पारित हुनु पूर्व खर्चको विवरण सार्वजनिक गर्नु पर्ने, प्राकृतिक स्रोत बाट आएको आम्दानी पारदर्शी हुने पर्ने जस्ता जनताको पक्षको माग राखेको बताउनुभयो । उहाँले गत वर्ष देखि सुरु भएको वडा गौरवको आयोजना अहिले कटौटी भएको र निन्तर हुनु पर्ने मुख्य माग रहेको बताउनुभयो । कार्यपालिकामा आएका विद्येयकहरु विना छलफल पारित हुने गरेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका इन्चार्ज राजु प्रसाद श्रेष्ठले नगरपालिकाको विकासको लागि पार्टीले सहकार्य गर्दै आए पनि नगरपालिका एक लौटी ढंगले अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश र संघमा नेकपाको सरकार रहेको र स्थानिय तहमा नेपाली कांग्रेसको सरकार रहेकाले विकासको लागि सहकार्य गर्न नेकपा समन्वय समितिमा गएको तर कुनै सुनुवाई नभएको र आएको बजेट कार्यान्वयन हुन नसके पछि राजिनामा दिएको जानकारी गराउनुभयो । संसदिय दलका नेता तथा वडा नं. १० का वडा अध्यक्ष लिल बहादुर गाहाको स्वागत बाट सुरु भएको पत्रकार सम्मेलनको सहजिकरण वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेलले गर्नु भएको हो ।

यता रामपुर नगरपालिकाले भने तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्तामा माग अनुसार रकम नआए पछि भएको रकमलाई समान रुपमा वितरण गरिएको जनाएको छ । आएको रकम मध्ये पहिलो र दोस्रो चौमासिक रकम पुरा दिए पनि केही वडाहरु बाट भिईआरएसपि एमआईएस अपडेट नहुँदा रकम आउन नसकेको हो । तेस्रो चौमासिकका लागि ३ करोड १७ लाख ४६ हजार ६ सय माग भएकोमा १५ लाख ३८ हजार २ सय बराबर रकम अपुग भएको थियो । रकम अपुग भए पछि कसैलाई दिने र कसैलाई नदिने गर्नु भन्दा अन्त सम्ममा आएमा दिने गरी वडा सचिवहरु संग सहकार्यमा ४ दशमलव ५ प्रतिशत कट्टा गरी रकम पठाएको रामपुर नगरपालिकाका लेखा अधिकृत रेनुराम ज्ञावलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?