रामपुर नगरको बजेट ७१ करोड २० लाख, नगर विकासको लागि २० करोड ७२ लाख

पाल्पा, रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७१ करोड २० लाख ३० हजारको बजेट पारित गरेको छ । बुधबार सम्पन्न नगर सभाले सभाले झण्डै ५ करोड रुपया रकम संसोधन थप गरि बजेट पारित गरेको हो ।
नगर पालिकाले गत १० गते पारित गरेको निती तथा कार्यक्रममा सत्रमा ६५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको थियो । बजेट पारित भए संगै विहिबार विहान पत्रकार सम्मेलन मार्फत नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले बजेटका बारेमा जानकारी दिनु भएको थियो । उहाँले कोभिडका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई लक्ष्यित गर्दै आर्थिक आगामी वर्षका लागि बजेटहरु ल्याईएको बताउनुभयो ।
होटेल न्यू श्रीनगरमा भएको पत्रकार सम्मेलनमा न्यौपानेले आम्दानी तर्फ संघीय शसर्त ३० करोड ६५ लाख, संघीय विशेष अनुदान तर्फ १ करोड, प्रदेश सशर्त ३ करोड ७८ लाख ५० हजार, प्रदेश समपुरक अनुदान तर्फ २ करोड ३४ लाख ८० हजार, प्रदेश विशेष अनुदान तर्फ ७० लाख, संघीय समानिकरण अनुदान ११ करोड ९३ लाख, प्रदेश समानिकरण अनुदान ५४ लाख ३१ हजार, प्रदेश सरकार राजस्व बाडफाड ८९ लाख ९७ हजार, संघीय राजस्व बाडफाड तर्फ ८ करोड ७१ लाख ८९ हजार ६ सय ४०, आन्तरिक श्रोत तर्फ ७ करोड ३९ लाख ६० हजार ३ सय ९२ रुपयाँ, अ.ल्या ५० लाख रहेको र बजेट घाटा तथा अपुग रकम २ करोड ७३ लाख २१ हजार ९ सय ६८ गरि कुल ७१ करोड २० लाख ३० हजारको बजेट पारित गरेको बताउनुभयो । जस मध्ये नगरविकासको लागि २० करोड ७२ लाख र चालु खर्चको लागि १२ करोड विनियोजन गरिएको बताउनुभयो । न्यौपानेले नगर विकास बजेट मध्ये पूर्वाधार विकासको लागि ५८ प्रतिशत, सामाजिक विकासका लागि १० प्रतिशत, आर्थिक विकासका लागि २२ प्रतिशत, वातावरण तथा विपद व्यवस्थापन १० प्रतिशत विनियोजन गरिएको बताउनुभयो । नगरसभाले गरेका निर्णयहरु सार्वजनिक गर्दै न्यौपानेले सातौं नगरसभाले महिला हिंसा निवारण कोष संचालन नियमावली २०७७, मेलमिलाप कार्य संचालन तथा व्यबस्थापन कार्यबिधी २०७७ र आपतकालिन बालउद्दार कोष संचालन नियमावली २०७७ पारित गरेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको जिज्ञासा मेटाउँदै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगरपालिकाले सबैलाई समेत्दै समानुपातिक विकासको अवधारणा अनुसार अघि बढेको बताउनु भयो । उहाँले नगर सभामा विद्येयकहरु कार्यपालिकाका सदस्यहरु विच छलफल गरेर नै ल्याउने गरेको बताउनुभयो । घिमिरेले नगरले गरेका राम्रा कार्यहरु बाहिर आउन नसकेको भन्दै राम्रा नराम्रा क्रियाकलापलाई बाहिर ल्याएर सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । पत्रकार सम्मेलनको सहजिकरण रामपुर ६ का वडा सचिव बासुदेव ढकालले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?