क्वारेन्टाईन तथा आईसोलेशनमा खटिनेहरुलाई रामपुर नगरपालिका द्वारा धन्यवाद ज्ञापन

पाल्पा, रामपुर नगरपालिकाले क्वारेन्टाईन तथा आईसोलेशनमा खटिने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेको छ । नगर भित्रका क्वारेन्टाईन तथा आईसोलेसन खाली भए संगै क्वारेन्टाईन व्यवस्थापन तथा सञ्चालन समितिले एक कार्यक्रम गरी धन्यवाद ज्ञापन गरेको हो ।

समितिले सोमबार कार्यक्रम गरी क्वारेन्टाईन स्थलमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेको हो । क्वारेन्टाईनमा खटिएका व्यक्तित्वहरुलाई धन्यवाद दिदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले क्वारेन्टाईन व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मी, जनप्रतिनिनिधी, स्वास्थ्यकर्मी, विद्यालय व्यवस्थापन समिति र स्थानियहरुको सहयोगले संक्रमण फैलन बाट जोगिएको बताउनुभयो । उहाँले संक्रमण अझ फैलन सक्ने खतरा रहेको भन्दै विपत्तिको सामना गर्न तयारी अवस्थामा रहन सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सबैको अथक प्रयासले महामारी नफैलिए पनि खतरा अझै तरेको छैन । त्यसैले सावधानी अपनाएर तयारी अवस्थामा रहनु होला ।’ उहाँले राजनैतिक दल, संघ संस्थाहरुले देखाएको अग्रसरताको प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले नगरको अहिलेको अवस्थाको बारेमा जानकारी दिदै असार २० गते सम्ममा क्वारेन्टाईन व्यवस्थापनको लागि ७१ लाख ५३ हजार १ सय ९१ रुपैयाँ बराबरको खर्च भएको जानकारी दिनुभयो । कार्यक्रममा गोरख दल गुल्म रामपुरका सेनापति हरि तिवारी, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष एवं क्वारेन्टाईन व्यवस्थापन समितिका सदस्य कमलराज भट्टराई, शहिद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्ले र रामपुर नगरपालिका ६ का वडा अध्यक्ष एवं क्वारेन्टाईन व्यवस्थापन समितिका सदस्य हुमनाथ न्यौपानेले बोल्दै क्वारेन्टाईन व्यवस्थापनमा देखिएका चुनौती, सिकाएको पाठका बारेमा बताएका थिए । उनीहरुले विपद संगै विकासमा पनि सहकार्य गर्दै अघि बढ्न सके समस्याहरुलाई सहजै समाधान गर्न सकिने बताएका थिए ।

क्वारेन्टाईन व्यवस्थापन समितिका संयोजक हिमाल मल्लको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन सदस्य सचिव कपिल बहादुर खाँणले गर्नु भएको हो । रामपुर नगरपालिकाका विद्यालयहरुमा स्थापना भएका आईसोलेसन तथा क्वारेन्टाईनमा रहेका १३ जनालाई आईतबार घर पठाए संगै खाली भएको हो । शहिद बहुमुखी क्याम्पसको आईसोलेसनमा रहेका ४ जना, आधारभूत माध्यमिक विद्यालयमा रहेका ७ जना, कालिका आधारभूत विद्यालयमा रहेका १ र जानकी आधारभूत विद्यालयमा रहेका १ जनालाई घर पठाइए संगै २३ वटै विद्यालयका क्वारेन्टाईन खाली भएको क्वारेन्टाईन व्यवस्थापन तथा सञ्चालन समितिका संयोजक हिमाल मल्लले बताउनुभयो । लकडाउन सुरु भए संगै अन्य जिल्ला, भारत तथा तेस्रो मुलुक बाट फर्किएका ७ सय ६८ जनालाई रामपुर नगरपालिकाले स्थापना गरेको २३ वटा विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो । जस मध्ये ६ सय ५८ जनाको पिसिआर परिक्षण गर्दा ४ जना महिला र १ सय १३ जना पुरुष गरी १ सय १७ मा पोजेटिभ देखिएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गानाले २ सय १९ जनाको आरडीटी परिक्षण गर्दा १९ जनामा पोजेटिभ देखिएको जानकारी दिनुभयो । शहिद बहुमुखी क्याम्पसको आईसोलेश खटिएका स्वस्थ्यकर्मी तथा सुरक्षा कर्मीहरु पनि सोमबार नै आफ्नो कार्यक्षेत्रमा फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?