पेट्रोलको मुल्य प्रति लिटर २ रुपैयाँले बढ्यो

काठमाडौं, पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ ।
त्यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर साढे एक रुपैयाँ अर्थात् एक रुपैयाँ ५० पैसाले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इण्डियन आयल कर्पोरेशनले पठाएको खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्य बढेको हो ।
यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ पुगेको छ। यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?