रामपुर नगरपालिका कार्यालयमा अब छुट्टै स्तनपान कक्ष

पाल्पा, रामपुर नगरपालिकामा स्तनपान कक्ष सञ्चालनमा आएको छ । नगरपालिकाले दर्ता तथा चलानी कक्षको रुपमा रहेको कोठालाई शुक्रबार देखि स्तनपान कक्षको रुपमा सञ्चालनमा ल्याएको हो ।

नगरपालिकामा कार्यरत महिला कर्मचारी तथा महिला सेवाग्राहीहरुको सहजताका लागि कार्यालय परिसरमा रहेको दर्ता चलानी कक्षमा वेड, टेवल र कुर्चीहरु राखेर छुट्टै कक्ष स्थापना गरिएको हो । ‘‘स्वास्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार’’ भन्ने नाराका साथ गत साउन १७ देखि शुक्रबार सम्म सञ्चालन भएको स्तनपान सप्ताहको समापनको अवसरमा नगरपालिकाले कक्ष स्थापना गरेको हो । स्तनपान कक्षको उट्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले स्तनपान बालकको सर्वाङ्गिण विकासको लागि अपरिहार्य रहेको भन्दै, समयमा स्तपान गर्न पानु शिशुक नैसर्गिक अधिकार भएको बताउनु भयो । उहाँले कक्षको स्थापना संगै सहजरुपमा स्तनपान गराउन सहज हुने बताउनुभयो ।

बेस नेपाल सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर सञ्जु परियारले बच्चाको राम्रो बृद्धि विकासका लागि आमाले नियमित पौष्टिक आहार लिनुपर्ने जन्मेलगत्तै बिगौती दुधदेखि २ बर्ष उमेरसम्म आसन मिलाएर दुध खुवाउन हिचकिचाउन नहुने बताउनुभयो ।
रामपुर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत रामहरी पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नर्सिङ्ग अधिकृत पुनम धितालले विश्वव्यापी बनेको स्तनपान सप्ताह नेपालमा यसको नियमित सचेतना तथा आबश्यकताका बारेमा स्पष्ट पार्जु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका स्वास्थ्य शाखाका गिरिराज घिमिरेले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?