पाल्पा, सामुदायिक वनहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ स्थापना अवसरमा देशैभर सामुदायिक वन दिवस मनाईएको छ । महासंघले रजतजयन्ती मनाइसकेको अवस्थामा विगत ५ बर्षदेखि सामुदायिक बन दिवस मनाउदै आएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ रामपुरले पनि एक अन्तरक्रिया कार्यक्रम गरी सामुदायिक वन दिवस मनाएको छ ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बोल्दै वन नीति र अधिकार संगसंगै जाने भएकाले आफ्नो अभिभावक र सन्तती मानेर जोगाएको बनको दिगो व्यबस्थापनमा जोड दिनुपर्नेमा बताउनुभयो । वनमा गल्ती पनि गर्ने र वन प्रहरी प्रशासन संग डराउने प्रवृतिले समन्वयमा सहज हुन नसकेको औल्याउँदै राम्रो काम गर्ने र उत्कृष्ट बन्ने कार्यमा लाग्न उहाँले बन समुहलाई आग्रह गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं. ५ का सदस्य यज्ञमुर्ती घिमिरेले कोरोनाको कहरका बेला संयमित रहन सबै उपभोक्तालाई आग्रह गर्दै मास्क र साबुन हस्तान्तरण गर्नुभयो । सुरक्षित र सजकता अपनाउन अनुरोध गर्दै बनको संरक्षण र सम्बद्र्धनमा उपभोक्ताको भुमिका उल्लेख्य रहने बताउनुभयो ।
सव डिभिजन वन कार्यालय रामपुरका सहायक बन अधिकृत सरिफ मियाले बन ऐन र नियममा रहेर सामुदायिक बनले काम गर्नुपर्नेलाई चुक्न नहुने भन्दै बनमा अबैध गतिबिधी हुन नदिन सबै चनाखो हुनुपर्ने बताउनुभयो । महासंघका सल्लाहकार तथा पत्रकार सीता डोटेलले बन प्रति नागरिकको अधिकार स्थापना, संरक्षण र प्रबर्द्धन, उपभोक्ता समुहमा नेतृत्व र क्षमताका लागि सामुदायिक बनको महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्नुभयो । गाबुडाडा सामुदायिक बनका अध्यक्ष बिमल श्रेष्ठले बनको कार्ययोजना निर्माण १०/१० बर्षमा हुँदै आएकोमा ५/५ बर्षमा गर्नाले थप झण्झट भएकोले दिगो योजना नै उत्तम लागेको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ रामपुरका अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका सामुदायिक वन उपभोक्ता महासंघ रामपुरका सदस्य ईश्वरीदेवी खनालको स्वागतबाट शुरु भएको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक वन उपभोक्ता महासंघ रामपुरका सचिव लक्ष्मी थापाले गर्नुभएको हो । कार्यक्रममा महासंघका प्रदेश सदस्य यज्ञमुर्ती घिमिरेले उपस्थित सबैलाई कोरोना संक्रमणबाट जोगिन सुरक्षा स्वरुप साबुन र मास्क बितरण गर्नुभएको थियो ।