शव लिएर फर्किदा निस्दीमा आफन्त चढेको जिप दुर्घटना

पाल्पा, निस्दी गाउँपालिका ४ मा मंगलबार साँझ जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । निस्दी ७ ज्यामिरे बाट वडा नं. ५ को पटकसार तर्फ शव लिएर फर्किने क्रममा लु १ ज २८८६ नम्बरको जिप दुर्घटना भएको थियो ।

छापडाँडा नजिकै दुर्घटना हुँदा निस्दी ५ गाबुडाँडाका ६३ वर्षिय ठाकुर प्रसाद फाल र निस्दी ४ काफलका ३ महिनेको बालक सिमुवान कालुङ्गको घटनास्थल मै निधन भएको हो । दुर्घटनामा ६ जना घाईते भएका छन् । घाईते हुनेहरुमा निस्दी ५ पटकसारका ३८ वर्षिय सुमित्रा सारु सोही स्थानका ३६ वर्षिय सेरमति सारु, २० वर्षिय लक्ष्मी सारु, ३७ वर्षिय तिलकुमारी सारु, निस्दी ४ झ्यालटुङका २५ वर्षिय सृजना गाहा, निस्दी ४ काफलका २२ वर्षिय विष्णुमायाँ सारु रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी हवल्दार मनिराम यादवले बताउनुभयो । घाइतेहरुलाई उपचारको लागि युनाईटेड मिसन अस्पताल तानसेन लगिएको छ ।

जिप सडक भासिएर दुर्घटना भएको जनाएको छ । जिप सडकबाट करिब ७ सय मिटर तल झरेको छ । गाडी दुर्घटना पछि चालक र सह चालक फरार रहेकोले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।  मित्याल आधारभूत विद्यालयका प्रधानाध्यापक टेक बहादुर सुनारीका अनुसार निस्दी ५ पटकसारका १५ वर्षिय झपिन सारुको भरतपुर मेडिकल कलेज  भरतपुरमा उपचारको क्रममा निधन भएको थियो । शव घर ल्याउने क्रममा अरुणखोला वारि उनको शव तारे पछि निस्दी ७ ज्यामिरेको मोटेखरक बाट एक वटा गाडीले शव र एक वटा गाडीले उनको आफन्तलाई लिएर पटकसार फर्किदै थियो । फर्किने क्रममा घर पुग्नै लाग्दा साँझ साढे ५ बजे सडक भासिएर जिप खसेको हो । जिपमा चालक र सहचालक सहित १० जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?