रामपुरका २ जना सहित पाल्पामा थप ३ मा कोरोना पुष्टि

पाल्पा, रामपुर नगरपालिकाका २ जना सहित पाल्पामा आईतबार थप ३ जनामा कोरोना देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाका एक जना महिला र रामपुर नगरपालिकाका दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

       भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा घरमा बस्दै आएकी तानसेन ८ मदनपोखरा पिपलडाडाँकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । रामपुर नगरपालिकाका भने तेस्रो मुलुक बाट फर्किएका रामपुर ६ का युवक र विदामा कपिलवस्तु घर गएर फर्किएका एक शिक्षकमा कोरोना पुष्टी भएको हो । मदनपोखरा पिपल डाँडाकी घरमै बसेकी महिलामा संक्रमण देखिए सँगै तानसेनमा समुदास्तरमै फेरी अर्को नयाँ केस थपिएको छ । शुक्रबार ज्वरो, रुखाघोकी लागेर लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि आएकी महिलामा कोरोनाको लक्षण देखिए पछि शनिबार स्वाव संकलन गरी पठाइएकोमा उनको आइतबार रिपोर्ट पोजेटिभ आएको हो । उनको अहिले आइशोलेसनमा राखेर उपचार भइरहेको छ ।

साउन ३१ गते स्वाव संकलन गरेर पठाईएको रामपुर नगरपालिकाका ८५ जना मध्ये २ जनामा कोरोना पोजेटिभ देखिएको हो । नगरपालिकाले नगरपालिका कर्मचारी, विदामा गएर फर्किएका शिक्षक, सुरक्षाकर्मी, भारत र तेस्रो मुलुक बाट फर्किएर होम क्वारेन्टाईनमा बसेकाहरुको साउन ३१ गते स्वाव संकलन गरेर पठाएकोमा आईतबार सबैको रिपोर्ट आएको रामपुर नगपालिकाका नर्सिङ्ग अधिकृत पुनम धितालले बताउनुभयो । संक्रमण देखिएका २ जना मध्ये रामपुर ९ मा अध्यापनरत ४५ वर्षिय शिक्षक र रामपुर ६ तिलकपुरका २४ वर्षिय पुरुष रहेका छन् ।

रामपुर ९ को एक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक विदामा घर गएको र १२ दिन अघि पुनः रामपुर आएको नगरपालिकाका स्वास्थ्य संयोजक तिर्थ प्रसाद ढुङ्गानाले बताउनुभयो । कपिलवस्तु घर पुगेर फर्किएका उनलाई १४ दिन पछि मात्र हाजिर गराउने गरि विद्यालयले होम क्वारेन्टाईनमा राखेको थियो । उनले पुर्णरुपमा होम क्वारेन्टाईन पालन गरेको बुझिएको छ ।
रामपुर ६ तिलकपुरका पुरुष पनि १४ दिन अघि घर आईपुगेका थिए । काठमाडौं ओर्ले पछि उनी बुटवल हुँदै घर आएका थिए । घर अाए पछि उनी होम क्वारेन्टाईनमा बस्दै आएका थिए । उनले परिवार संग अलग रहेर खाने बस्ने गरेकाे पाईएको रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनु भयो । न्यौपानेले परिवार संग एउटै शौचालय प्रयोग गरेको पाईएकाे जानकारी दिनुभयो । उनको घर वरपरको क्षेत्रलाई स्वाव संकलन पछि रिपोर्ट नअाउन्जेल सम्मको लागि शील गरिएको छ । रामपुर नगरपालिका ५ का वडा अध्यक्ष एवं क्वारेन्टाईन व्यवस्थापन समितिका संयोजक हिमाल मल्लले उनीहरुमा कुनै लक्ष्यण नभएको बताउँदै होम क्वारेन्टाईन मै राखिने बताउनु भयो ।
आइतबार थप तीन जनामा सक्रमण देखिएसँगै संक्रमितको संख्या ५ सय ६८ पुगेको छ । जसमध्ये ५ सय ६१ जना कोरोना जितेर घर फर्किएका छन्, भने एक जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?