रामपुर नगरपालिकामा लकडाउन थप ५ दिन लम्बियो

पाल्पा, पाल्पाको रामपुर नगरपालिकामा लकडाउन थप ५ दिन लम्बिने भएको छ । समुदायस्तरमा संक्रमण फैलिने जोखिम बढे संगै गत भाद्र २ देखि १२ गते सम्म नगरपालिकाले लकडाउन घोषणा गरेको थियो । जोखिम कायम नै रहेको भन्दै सोमबार नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले लकडाउन थप गर्ने निर्णय गरेको हो ।

रामपुर नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, ईलाका प्रसाशन कार्यालय रामपुरका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी, जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख  तथा पत्रकार सहितको बैठकले नगरमा लकडाउन थप गर्ने निष्कर्श निकालेको हो । आईतबार रामपुर नगरपालिकाका २ जनामा कोरोना संक्रमण देखिए संगै आवश्यक परामर्शका लागि नगरपालिकाले सर्वपक्षिय बैठक डाकेको थियो । यता जिल्ला प्रशासन कार्यालय पाल्पाले पनि १२ गते सम्म निषेधाज्ञा जारी गरेको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले परिक्षणको दायरा बढाउन तथा संक्रमितको व्यवस्थापनको लागि पनि विभिन्न निर्णयहरु गरेको छ । त्यस्तै वडा नं. ६ तिलकपुरको ढकालथरमा एक जनामा संक्रमण पुष्टि भए संगै ढकाल थरको सो घरको २ सय मिटर वरिपरी शील गर्ने निर्णय गरेको छ । दुवै बाट घर फर्किएर होम क्वारेन्टाईनमा रहेका पुरुषमा संक्रमण देखिएको थियो ।

बैठकले कसैलाई कोरोना पोजेटिभ देखिएमा होम आईसोलेसनमा राख्ने, नगरपालिका भित्र फ्रन्टलाईनमा खटिएका वडा अध्यक्ष, वडा सचिव, स्वास्थ्यकर्मी र सञ्चारकर्मी सहित संक्रमित देखिएको ढकालथर टोलका कन्ट्रयाक ट्रेसिङ्मा परेकाहरुको पिसिआर परिक्षण गर्ने र कोरोना बाट कोही संक्रमित भएर निधन भएमा आफ्नै घाटमा शव व्यवस्थापन गर्ने निर्णय गरेको छ । यस्तै पिसिआर गर्न चाहाने सर्वसाधारणहरुलाई ५ हजारमा पिसिआर परिक्षणको व्यवस्था गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?