पाल्पा, विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण समुदाय स्तरमा पुगे संगै देशका अधिकांश स्थानहरुमा जिल्ला प्रशासन तथा स्थानिय तहहरुले निषेधाज्ञा जारी गरेको छ । जसका कारण उद्योग, व्यवसाय, यातायात तथा निर्माण क्षेत्र थप्प अवस्थामा छ ।
जसका कारण दैनिक ज्याल मजदुरी मार्फत गुजरा चलाउँदै आएका समुदायको जनजिवन प्रभावित हुन पुगेको छ । लकडाउनको सुरुवातमा सरकारले राहतका कार्यक्रमहरु ल्याए थपिदै गएको निषेधाज्ञा र लकडाउनको समयमा त्यस तर्फ ध्यान जान नसक्दा दैनिक ज्यालादारी मजदुरहरुलाई रोगको त्रास त छैदै छ, भोकको पिरले पनि सताउन थालेको छ । यता पाल्पाको रामपुरमा भने लकडाउनले काम विहिन बन्दा प्रभावित बनेको श्रमजीविहरुको लागि फुड बैंक सञ्चालनमा आएको छ । “हुनेले दिएर जाऔ नहुनेले लिएर जाऔ“ भन्ने उद्देश्यका साथ लायन्स क्लब अफ रामपुरको समन्वयमा रामपुर युवा क्लब, सिज नेपाल, युथ युनियन मटेरी, इस्लामिक सक्रिय युवा समाज, भम्बक युनाइटेड युथ क्लब लगाएतका स्थानिय क्लवहरुको सहकार्यमा फुड बैंक सञ्चालनमा आएको हो ।
स्थानिय, उद्योगी, व्यवसायी तथा सामाजिक व्यक्तित्वहरु बाट प्राप्त सहयोग मार्फत बैंक सञ्चालनमा ल्याएको हो । फुड बैंकको बिहिबार रामपुर ५ बेझाँडमा एक कार्यक्रमका विच शुभारम्भ गरिएको हो । फुड बैंकको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सामाजिक संस्थाहरुले चालेको कदमको प्रशंसा गर्नु भयो । उहाँले संघ, प्रदेश तथा स्थानिय सरकार संक्रमितको व्यवस्थापन, परिक्षणमा लागिरहेको बताउँदै क्लवहरुको अभियानमा पनि नगरपालिकाले साथ दिने बताउनुभयो । उहाँले यस अभियानले निम्न वर्गका परिवारलाई राहत संगै क्लवहरु विचको सम्बन्ध सुमधुर बनाउन समेत मदत मिल्ने बताउनुभयो । साथै थापाले संक्रमण फैलिने दर बढेको भन्दै अव हामी सजग हुने समय आएको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्लले लकडाउन तथा निषेधाज्ञाले श्रमिक वर्ग थप मर्कामा रहेको भए पनि सिमित साधनका कारण समस्या भएको बताउनुभयो । कार्यक्रममा लायन्स क्लव ३ सय २५ वि टु का डिस्ट्रिक कोर्डिनेटर भोजेन्द्र प्रकाश ढकालले सरकारले राहतका प्याकेज नल्याएको अवस्थामा हुँदा खानेको लागि हुने खाने बाट सहयोग जुटाएर कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
लायन्स क्लव अफ रामपुरका अध्यक्ष खिम बहादुर क्षेत्री पुरुषोत्तमले स्थानिय क्लवहरु संग समन्वय गरेर ५ दिनको कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले ५ दिन सम्म फरक फरक स्थान बाट क्लवहरुको समन्वयमा कार्यक्रम गरिने बताउँदै आवश्यकता अनुसार नगरका सबै स्थानमा पुग्ने कार्यक्रम रहेको बताउनुभयो । फुड बैंक मार्फत आज बेझाँड बजार चोक रामपुर युवा क्लवको भवन बाट सामाग्री वितरण गरिएको थियो । भोली रामपुर ४ को सदावर्त मार्फत खाद्यान्न सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ । साँझ ४ बजे देखि सञ्चालनमा आउने फुड बैंक मार्फत अहिले खाद्यान्न समस्या भएकाहरुले ५ किलो चामल, १÷१ केजी दाल र नुन तथा आधा लिटर तेल लिएर जाने व्यवस्था गरिएको छ ।
लायन्स क्लव अफ रामपुरका अध्यक्ष खिम बहादुर क्षेत्री पुरुषोत्तमको अध्यक्षतमा भएको शुभारम्भ कार्यक्रम रामपुर युवा क्लवका पूर्व अध्यक्ष अशोक श्रेष्ठको स्वागत र युथ युनियन मटेरीका सचिव दिपेन्द्र भट्टराईको सञ्चालनमा भएको थियो । फुड बैंकमा सहयोग गर्न इच्छुकहरुले सहयोग गर्न र आवश्यक हुनेले लिएर जान पाउने व्यवस्था गरिएको छ ।