पाल्पामा जिल्ला भित्रका गतिविधि भोली देखि खुल्ने, अन्तर जिल्ला सीमामा कडाई गरिने

पाल्पा, पाल्पामा दुई हप्ता देखि जारी निषेधाज्ञा अन्तर जिल्ला सीमामा कडाइ गर्ने गरि भदौ २० (भोली) देखि खुल्ने भएको छ । कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको शुक्रबार सम्पन्न बैठकले आन्तरिक गतिविधि भने खुला गर्ने निर्णय गरेको हो ।

भदौ ४ गते प्रमुख जिल्ला अधिकारीबाट पाल्पा जिल्लाभरि लागू हुनेगरी जारी गरिएको निषेधाज्ञा आदेशको अवधि सकिएपछि भदौ १२ गते राति १२ः०० बजेदेखि शुक्रबार (आज) राति १२ः०० बजे सम्मका लागि थप गरिएको थियो । कोरोना भाईरसको संक्रमण बढ्दै गएता पनि निषेधाज्ञाका कारण दैनिक जनजीवन र विकास निर्माण प्रभावित भएको भन्दै जनस्वास्थ्य र सुरक्षाका तोकिएका मापदण्ड अपनाई जिल्ला भित्रका बैंक तथा वित्तिय संस्था, उद्योग, व्यवसाय, जिल्ला भित्र निजी यातायात सञ्चालन गर्न लागेको हो । जिल्ला भित्रमात्र आवगमन गर्ने निजी सवारी साधन जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् ।

शनिबार भने जोर नम्बरका सवारी चल्नेछन् । यात्रुबाहक सार्वजनिक वा भाडाका सवारी साधन भने चल्न पाउने छैन । यस्तै बन्द रहेका सरकारी, सार्वजनिक, बैंक तथा वित्तीय संस्था, बीमा लगायत सबै प्रकारका कार्यालयहरु, स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि र पशुपन्छी व्यवसाय, विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा, फोहोरमैला व्यवस्थापन लगायत सबै प्रकारका ढुवानी सेवा, सबै प्रकारका विकास आयोजना र निर्माण कार्य, उद्योग, व्यापार, व्यवसाय, फसल, डिपार्टमेन्ट स्टोर, रेष्टुरेण्टबाट हुने प्याकिङ र टेक अवे सेवा सुचारु हुनेछ । तर सबै सवारी साधनलाई बेलुकी ७ः०० बजे देखि बिहान ५ः०० बजेसम्म चलाउन रोक लगाइएको छ । स्वास्थ्य सामग्रीसँग सम्बन्धित बाहेक अन्य सबै प्रकारका पसलहरु बेलुका ५ः०० बजेदेखी बिहान ७ः०० बजेसम्म बन्द रहनेछन् ।
सरकारी, सार्वजनिक र बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयहरुले संक्रमणको जोखिम तथा भिडभाड नहुने सुनिश्चतता गरी आवश्यकतानुसार कुपन प्रणाली, निश्चित क्षेत्रलाई पालो अनुसार सेवा उपलब्ध गराउने व्यवस्था वा सिफ्टको प्रबन्ध मिलाई जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनुपर्ने भएको छ । अन्तरजिल्ला आवागमनमा रोक लगाइएकोले जिल्लाको सीमा नाका कडाइका साथ नियन्त्रण गरिने भएको छ । दमकल, एम्बुलेन्स लगायत सञ्चालन हुने भनी माथि उल्लेख भएका अत्यावश्यक सेवाका साधनहरुमा चालक, सहचालक तथा एम्बुलेन्समा बिरामी र एकजना कुरुवा रहने गरी सहजिकरण गरिनेछ ।

बैठकले उद्योग र निर्माण कार्यमा संलग्न कामदार कार्यस्थल भित्रमात्र रहने गरी र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्ने, जिल्ला बाहिरबाट आउने व्यक्ति अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नेपर्ने निर्णय गरेको छ । अन्य सेवाहरु खुले पनि शैक्षिक संस्थाहरु बन्द रहनेछन् । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल तथा स्पा, सैलुन तथा ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल र सार्वजनिक स्थानमा हुने पर्व, जात्रा, जमघट बन्द गरिएको छ ।

पाल्पामा अहिलेसम्म कोरोनाका २४ जना सक्रिय सङक्रमित रहेका छन् । १९ जना व्यक्ति आइशोलेसनमा बसेका छन् । जिल्लाबाट पिसिआर परिक्षणका लागि पठाइएको ५ सय जनाको स्वावको रिपोर्ट आउन बाँकी छ । पाल्पामा विदेश बाट जिल्ला भित्रिएका भने होम क्वारेन्टाइनमा बसेका छन् । पाल्पामा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ५ सय ८९ पुगेको छ । संक्रमित मध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन्, २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको निर्णय अनुसार जारी गरेकाे सुचना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?