रामपुर नगरपालिका स्वास्थ्य शाखाले गर्यो कार्यक्रमहरुको समिक्षा

पाल्पा, रामपुर नगरपालिका स्वास्थ्य शाखाले गत वर्षका कार्यक्रमहरुको समिक्षा गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा स्वास्थ्य शाखा र शाखा अन्तर्गतका स्वास्थ्य संस्थाले प्राप्त गरेका उपलब्धी, नगरभित्रका स्वास्थ्यका कार्यक्रमको अवस्थाको जानकारी गराई भावी योजना निर्माणका लागि समीक्षा कार्यक्रम गरेको हो ।

न्यू होटेल श्रीनगरको सभाहलमा नगरपालिका भित्रका जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुको उपस्थितिमा कार्यक्रम गरी समीक्षा गरेको हो । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखाको तर्फ बाट स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गाना, स्वास्थ्य शाखाका अधिकृत गिरिराज घिमिरे, रामपुर नगरपालिकाका नर्सिङ्ग निरिक्षक पुनम धिताल र सिनियर अनमी कमला श्रेष्ठले स्वास्थ्य शाखाले प्राप्त गरेका उपलब्धी, सम्पन्न भएका कार्यक्रम, मातृशिशु कार्यक्रम तथा खोपको प्रभाव, सेवाको स्तर, चुनौती, आगामी योजनाको बारेमा जानकारी गाउनु भएको थियो । स्वास्थ्य शाखाका अनुसार नगरपालिकाका स्वास्थ्य संस्था बाट ६१ हजार ९ सय ३६ जनाले सेवा लिएको पाईएको छ । रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले अस्पतालको भौतिक पुर्वाधार र अस्पतालको सेवा प्रवाहको अवस्थाको बारेमा जानकारी गराउँदै पूर्वाधार समयमा सम्पन्न नहुँदा थप सेवा सञ्चालनमा समस्या देखिएको बताउनु भयो । उहाँले स्वास्थ्य वीमा कार्यक्रम निकै प्रभावकारी भएको बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा ४० हजार बढीले सेवा लिएको बताउनुभयो ।

आयुर्वेद शाखाको तर्फ बाट प्रतिवेदन प्रस्तुत गर्दै रामपुर आयुर्वेदिक औषधालयका प्रमुख कविराज चेमन प्रकाश पोखरेलले शाखाका दुई स्वास्थ्य संस्था बाट ६ हजार ७ सय ९६ जनाले सेवा लिएको बताउनु भयो । गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिवुर रहमान शेखले गाँडाकोट स्वास्थ्य चौकीले प्राप्त गरेका उपलब्धी, देखिएका चुनौतीका बारे जानकारी दिनु भएको थियो । बेस नेपाल सुआहारा कार्यक्रमको तर्फ बाट फिल्ड सुपरभाईजर सञ्जु परियारले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समिक्षा कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले स्वास्थ्य सबै भन्दा महत्वपूर्ण भएको भन्दै रामपुर नगरपालिकाले स्वास्थ्यलाई अग्रभागमा राखेको बताउनुभयो । उहाँले आवश्यकता अनुसार स्वास्थ्यका पूर्वाधार तथा थप सेवा सञ्चालन गर्दै जाने बताउनु भयो ।

कार्यक्रममा रामपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक एक बहादुर नेपालीले नगरपालिकाले आगामी बजेटमा पनि नागरिकका स्वास्थ्य सेवालाई उच्च स्थानमा राखेको बताउनुभयो । रामपुर नगरपालिका स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाको तर्फ बाट प्रस्तुत भएको प्रतिवेदनको समिक्षा गर्दै स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले नागरिकको आधारभूत स्वास्थ्यको जिम्मेवारी स्थानिय तहलाई तोकेको बताउनु भयो । उहाँले पूर्वाधार विकास संगै सामाजिक विकास आवश्यक रहेको भन्दै जनप्रतिनीधिहरुलाई उचित स्वास्थ्यका कार्यक्रम सञ्चालनमा ध्यान दिन आग्रह गर्नु भयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले समिक्षा बाट प्राप्त भएका सुभावको आधारमा कार्यक्रम गर्दै अघि बढ्ने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत आचार्यको अध्यक्षतामा भएको कार्यक्रम स्वास्थ्य शाखाका अधिकृत गिरिराज घिमिरेको स्वागत र स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गानाको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?