भोटाहा घाटको जिल्ला स्तरिय अनुगमन तथा व्यवस्थापन समिति द्वारा निरिक्षण

पाल्पा, पाल्पाको निस्दी गाउँपालिका १ मा अनुमति भन्दा बढी नदी जन्य पदार्थ उत्खनन् भएको गुनासो आए संगै जिल्ला अनुगमन तथा व्यवस्थापन समितिले अनुगमन गरेको छ ।

कालीनदीको भोटाहा घाट बाट गत असारमा महिना पालिकाले दिएको अनुमति भन्दा बढी उत्खनन् भएको कुरा बाहिर आए संगै जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मिरा मरासिनीको संयोजकत्वमा गठित समितिले अनुगमन गरेको हो । निस्दी गाउँपालिकाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरका लागि १० हजार ७ सय घनमिटर बालुवा, गिट्टी तथा ढुङ्गा निकाल्न गत जेठ ३२ मा अनुमति दिएको थियो । तर करिडोरका लागि २१ हजार घनमिटर भन्दा बढी उत्खनन् भएको पाईएको थियो ।

चौतर्फी रुपमा गुनोसो आए पछि संयोजक मरासिनी, जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेशराज न्यौपाने, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक सन्तोष भट्टराई, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक अरुण सिं, जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञावली सहितको टोलीले नदिजन्य पदार्थ जम्मा गरेर राखिएको क्षेत्रको निरिक्षण गरेको हो । साथै कार्यक्रममा प्रदेश नं. ५ का सांसद नारायण आचार्य, युवराज खनाल, निस्दी गाउँपालिका प्रमुख मुक्त बहादुर सारु, वडा नं. १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँण लगाएतका जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रभावित स्थलको अवलोकन पछि जिल्ला प्रशासन कार्यालयले दोहनको विषयमा छानविन नहुन्जेल सम्मका लागि निकालिएका सामाग्री बाहिर लैजान रोक लगाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेशराज न्यौपानेले हेर्दा र बुझ्दा अनुमति भन्दा कयौं गुणा दोहन भएको देखिएको बताउँदै यसको थप अनुसन्धानको लागि आवश्यक कागजात जुटाएर छानविन गर्ने बताउनुभयो । नदि जन्य पदार्थको जिल्ला स्तरिय अनुगमन तथा व्यवस्थापन समितिका संयोजक मिरा मरसिनीले सम्झौता भन्दा बढी निकालिएको पाईएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरसर्ति हेर्दा बढी नै निकालिएको पाईयो । हामीले कागजपत्रहरु संकलन गरी जिल्ला प्रशासन संग समन्वय गरेर हामी छानविन् गछौं ।’

निस्दी १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँणले सुरुमा गैटी बेल्चा प्रयोग गरेर निकाल्ने सम्झौता भएपनि पछि पालिकाले उपकरण प्रयोगको अनुमति दिएको बताउनुभयो । उहाँले पालिकाले वडालाई कुनै जानकारी नगराए पनि उत्खनन्को क्रममा आफुले निरन्तर निरिक्षण गर्दै आएको तर पालिकाले अनुमति दिएर अनुगमन नगरेको बताउनुभयो ।  गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले अनुमति दिएर पठाए पनि कोरोना महामारीसंगै लकडाउनका कारण अनुगमन गर्न नसकिएको स्वीकार गर्नु भएको थियो । उहाँले करिडोरलाई भन्दा भन्दै आफ्नै तरिकाले काम गर्दा समस्या भएको बताउनुभयो । गाउँपालिकाले ईआईए रिपोर्टको आधारमा ३ हजार १ सय ८६ घनमिटर नदिजन्य पदार्थ निकाल्ने गरी गत कार्तिकमा भोटाहा घाट रामपुर नगरपालिका ६ का सीताराम देवकोटालाई ७ लाख ३० हजारमा दिएको थियो ।

जेठको अन्तिममा कालीगण्डकी करिडोरले १० हजार ७ सय घनमिटर सामाग्रीको लागि निवेदन दिएको थियो । ३२ गते पालिकाले ठुला उपकरण प्रयोगका लागि अनुमति सहितको पत्र दिएको थियो । ठेक्केदार संग असार मसान्त सम्मका लागि सम्झौता भएको थियो । करिडोरले ठेकेदार संग घाट लिएर उत्खनन् गरेको थियो । दुई वटा स्काभेटरको सहयोगमा करिडोरले सामाग्री निकालेको हो । नियम विपरीत गिट्टी, बालुवा र ढुंगा निकालेपछि नदी कटानको समस्या उत्पन्न हुने देखिएको स्थानीयहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?